इटालीको अल्पाइन ग्लासियर (हिमनदी)को ठूलो भाग भत्किएको छ ।
त्यसमा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।
इटालीको सरकारी टेलिभिजन च्यानलका अनुसार हिउँ र चट्टानको भग्नावशेषमुनि १८ जना मानिस फसेका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्छ ।
घाइतेमध्ये दुई जनालाई बेलुनोको अस्पतालमा लगिएको छ । एक जनाको अवस्था गम्भीर छ । उनलाई ट्रेभिसोको अस्पतालमा भर्ना गरिएको छ । ५ जनालाई ट्रेन्टोको अस्पतालमा लगिएको छ ।
यो भिडियो अल्पाइन रेस्क्यु सर्भिसले आफ्नो ट्विटर ह्यान्डलमा शेयर गरेको छ ।
मारमोलाडाको उचाइ करीब ११ हजार फिट छ । मारमोलाडा चुचुरो क्षेत्रमा जारी उद्धार कार्यमा ५ वटा हेलिकप्टर र स्निफर कुकुरको सहयोग लिइएको छ ।
हिमनदी फुट्नुको कारण भने अहिलेसम्म खुलेको छैन । यद्यपि हिमनदी फुट्नुको कारण गर्मी पनि हुन सक्ने अनुमान गरिएको छ ।