असार २०, २०७९ सोमबार

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार तथा निजी क्षेत्रबीचको सहकार्यले मात्र जनअपेक्षाअनुरुपको विकास र समृद्धि हासिल गर्न सम्भव हुने बताएका छन् । 

चन्द्रागिरि उद्योग वाणिज्य संघद्वारा सोमवार आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रममा उनले निजी क्षेत्रसँगको सहकार्यको महत्त्वलाई बुझेर अगाडि बढ्न जनप्रतिनिधिहरूलाई आग्रह गरे । 

'स्थानीय सरकार र निजी क्षेत्र दुवैको साझा लक्ष्य विकास र समृद्धिमार्फत जनतालाई सुखी तुल्याउने रहेको छ । त्यसैले राज्य र निजी क्षेत्रबीच बलियो साझेदारीका लागि म यहाँहरूलाई आह्वानसमेत गर्दछु,' उनले भने । 

उनले स्थानीय जनप्रतिनिधिहरूले विकास र लगानीका लागि एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताए । 

ढकालले स्थानीय जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहमा धेरै भन्दा धेरै उद्योग व्यवसायहरू सञ्चालन गर्ने, लगानी भित्र्याउने र रोजगारी सिर्जना गर्ने विषयमा एकापसमा प्रतिस्पर्धा गर्नुपर्ने बताए । 

यसरी प्रतिस्पर्धा गर्दा स्थानीय तहहरूले स्थानीयवासीलाई रोजगारी सिर्जना गर्ने, भौतिक पूर्वाधार निर्माण हुने र साथसाथै राजश्व पनि संकलन हुने उनको भनाइ छ । 

उनले चन्द्रागिरि हिल्सले चन्द्रागिरिका स्थानीयलाई रोजगारी दिएको, स्थानीय उत्पादनको प्रवर्द्धन गरेको र अन्य सामाजिक क्षेत्रमा सहयोग पुर्‍याएको बताए ।