असार २१, २०७९ मंगलबार

नेपाली राष्ट्रिय फुटबल टिमका तीन जना खेलाडी सोमबार अस्ट्रेलिया पुगेका छन्।

फरवार्ड दर्शन गुरुङ, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर नवीन गुरुङ सोमबार अस्ट्रेलियाको मेलवर्न पुगेका हुन्।

तीनै जना अस्ट्रेलियाको स्थानीय टिमबाट खेल्नका लागि त्यहाँ पुगेका हुन्।

तीनै जनालाई युनाइटेड एफसी मेलवर्नले सोमबार स्वागत गरेको छ। क्लबले तीनै जनालाई अनुबन्धन गरेको विषयमा भने केही खुलाएको छैन।

अस्ट्रेलिया पुगेका फुटबलरले त्यहाँको स्थानीय लिग खेल्ने बुझिएको छ। युनाइटेड एफसी मेलवर्नले हाल त्यहाँको स्थानीय एमसीएसए प्रिमियर लिग २०२२ खेलिरहेको छ।

लिगमा १० क्लबबीच प्रतिस्पर्धा भइरहेको छ। जहाँ यति एफसी, हिमालयन एफसी, हिमालयन टाइगरलगायतले प्रतिस्पर्धा गरिरहेका छन्। यी टिममा नेपाली मूलका खेलाडीहरू आबद्ध छन्। 

सोमबार अस्ट्रेलिया पुगेका तीनै जना पछिल्लो समय राष्ट्रिय टिममा थिए। जसमा दर्शनले पछिल्लो पटक नेपालका लागि गोलसमेत गरेका थिए।

दर्शनले गत महिना एएफसी एसियन कप छनोटअन्तर्गत कुवेतविरूद्ध गोल गरेका थिए।

दुई वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका इलामका दर्शनले कुवेतविरूद्ध दोस्रो हाफको इन्जुरी टाइममा गोल गर्न सफल भएका थिए। डिबक्सभित्रबाट उत्कृष्ट गोल गरेसँगै नेपालले कुवेतविरूद्ध ४० वर्षपछि गोल गर्न सफल भएको थियो। अघिल्लो सिजन उनले एनआरटीबाट ए डिभिजन लिग खेलेका थिए।

यता डिफेन्डर नवीन गुरुङले गत वर्ष दशरथ रंगशालामा मरिससविरूद्धको खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए।

नवीनले गत सिजन एनआरटीबाट ए डिभिजन लिग खेलेका थिए।

यता चार वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका सन्तोष तामाङ आर्मीका प्रभावशाली मिडफिल्डर हुन्। पछिल्लो समय आर्मीको मुख्य खेलाडी बनेका सन्तोषले राष्ट्रिय टिमबाट १६ खेल खेलिसकेका छन्।

पछिल्लो समय नेपाली फुटबलर भविष्य खोज्दै अस्ट्रेलिया जाने क्रम बढेको छ। यो वर्ष मात्रै राष्ट्रिय टिमका पाँच खेलाडी अस्ट्रेलिया गइसकेका छन्।

यसअघि सुमन लामा र आसिष लामा पनि अस्ट्रेलिया पुगेका थिए। त्यहाँको स्थानीय टिमबाट फुटबल खेलिरहेका सुमन र आसिष अघिल्लो वर्षसम्म राष्ट्रिय टिममा महत्वपूर्ण खेलाडी थिए। 

तीन वर्षअघि मिडफिल्डर हेमन गुरुङ र गोलकिपर एनल न्यौपाने अस्ट्रेलिया गएका थिए। लगत्तै अर्का खेलाडी बिमल बस्नेत पनि अस्ट्रेलिया पुगेका थिए।