असार २१, २०७९ मंगलबार

काठमाण्डौ: भारतसँगको पाँचौँं तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इङ्ल्यान्डले राम्रो प्रदर्शन गरेको छ ।

चौथो दिनको समाप्तिमा ३ सय ७८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ५७ ओभरमा ३ विकेट गुमाउँदै २ सय ५९ रन बनाएको छ ।

इङ्ल्यान्डका जोय रुट ७६ रन र जोनी बेयरस्टो ७२ रनमा अविजित रहे । चौथो विकेटका लागि रुट र बेयरस्टोले १ सय ५० रनको अविजित साझेदारी गरेपछि इङ्ल्यान्ड जित उन्मुख रहेको छ । अन्तिम दिन इङ्ल्यान्डलाई जितको लागि १ सय १९ रन आवश्यक पर्दा ७ विकेट छ ।

इङ्ल्यान्डका ज्याक क्रली र एलेक्स लिसले १ सय ७ रनको शतकीय पारी खेले । पहिलो पारीमा १ सय ३२ रनको अग्रता बनाएको भारतले दोस्रो पारीमा २ सय ४५ रन बनाएपछि समग्रमा इङ्ल्यान्डले ३ सय ७८ रनको लक्ष्य पाएको हो ।

इङ्ल्यान्ड विजयी भएमा पाँच टेस्ट खेलको श्रृङ्खला २–२ को बराबरीमा सकिनेछ । पराजित भएमा इङ्ल्यान्डले ३–२ ले श्रृङ्खला गुमाउनेछ । त्यस्तै बराबरी हुँदा इङ्ल्यान्डले २–१ ले गुमाउनेछ । गएको वर्ष पाँच खेलको टेस्ट  श्रृङ्खला अन्तर्गत ४ वटा टेस्ट सकिएपछि खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि हुँदा पाँचौँ टेस्ट  रोकिएको थियो ।

गएको वर्षकै श्रृङ्खला अन्तर्गत भारत र इङ्ल्यान्डले अहिले पाँचौँ टेस्ट  खेलेका हुन् । चार खेलमध्ये २ वटा भारतले र एउटा इङ्ल्यान्डले जितेका छन् । एउटा खेल बराबरीमा सकिएको थियो।