राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनालसँग भेटवार्ता गर्नुभएको छ ।
शनिबार दिउँसो ललितपुरको डल्लुमा रहेको खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको हो । भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताउनुभयो । खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकमा रहनुभएका इतिहास संशोधन मण्डलका अध्याता एवं प्रवर्द्धकहरु दिनेश पन्त र महेश पन्तको घरमा पुग्नु भएको र सोही क्रममा आफ्नो घरमा समेत भेटन आउनु भएको खनालले बताउनुभयो ।
भेटमा राष्ट्रपति भण्डारीले पार्टीमा देखिएको विवाद समाधान भएर जाओस् भन्ने चाहना रहेको बताउनुभएको पनि पूर्वप्रधानमन्त्री खनालले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले एकछिन भलाकुसारी गर्यौँ । विगतका कुराहरु पनि हामीले गर्यौँ । अहिलेको वर्तमान स्थितिको बारेमा पनि अलिकति कुराकानी भयो । उहाँले पार्टी आन्दोलन एकतावद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस्, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुराहरु व्यक्त गर्नुभयो ।’
भेटमा आफ्नो स्वास्थ्यप्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गर्नुभएको खनालले बताउनुभयो । तर आफूले आफ्नो स्वास्थ्य भन्दा पनि पार्टी र कम्युनिष्ट आन्दोलनको बारेमा चिन्ता लागेको कुरा राखेको बताउनुभयो ।
उहाँले भन्नुभयो ुराष्ट्रपतिज्यूले पनि लोकतन्त्र बलियो बनाउनलाई पार्टीहरु नै बलियो हुनुपर्ने र सबै पार्टीहरु बलिया हुन्, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र नेकपा एमाले पनि बलियो होस् भन्ने आफ्नो चाहना रहेको र अहिले पनि सकेसम्म पार्टीभित्र सबैलाई मिलेर जानुहोस् भन्ने सुझाव दिनुभयो ।’