बेलायतका अर्थमन्त्री ऋषि सुनकले प्रधानमन्त्री बोरिस जोनसनसँग असहमति राख्दै मंगलबार राजीनामा दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा उनले आफ्नो राजीनामा पत्र राख्दै आमनागरिकले सरकार पूर्ण क्षमतामा ठीक तरिकाले गम्भीरतापूर्वक चलोस भन्ने चाहना राख्नु जायज भएको बताएका छन्।
यी मान्यताका लागि लड्नु पर्छ भन्ने लागेकाले आफूले राजीनामा दिएको उनको भनाइ छ।
कोरोना भाइरसको महामारी, युक्रेनमाथि रूसी आक्रमण र अरू विभिन्न कारणले विश्व नै आर्थिक समस्याबाट गुज्रिरहेका बेला आफूले बेलायतको अर्थमन्त्रीबाट राजीनामा दिने निर्णय निकै सोचविचार गरेर लिएको सुनकले उल्लेख गरेका छन्।
सुनक र प्रधानमन्त्री जोनसनबीच सार्वजनिक खर्च कसरी गर्ने भन्नेबारे मतभेद रहेको बताइन्छ। तर पछिल्लो समय जोनसनले एक जना विवादित सांसदलाई महत्त्वपूर्ण नियुक्ति दिएपछि उनको मन्त्रिपरिषद्मा मतभेद चुलिएको हो।
यसैबीच स्वास्थ्यमन्त्री साजिद जाविदले पनि राजीनामा दिएका छन्। प्रधानमन्त्री जोनसन शासन गर्न योग्य नरहेको भन्दै उनले राजीनामा दिएका हुन्। सुनक र जाविदको राजीनामा केही मिनेटको अन्तरमा आएको हो।
उनीहरूसँगै केही राज्यमन्त्रीहरूले पनि जोनसन सरकारबाट राजीनामा दिएका छन्। जोनसनले अहिलेका शिक्षामन्त्री नादिम जहावीलाई नयाँ अर्थमन्त्रीका रूपमा नियुक्त गरेका छन् भने स्टिभ बारक्लेलाई स्वास्थ्यमन्त्री बनाएका छन्।
सुनक र जाविदको राजीनामाले बेलाबेलामा विवादमा परिरहने जोनसनलाई अब सहजै सरकार सञ्चालनमा कठिनाइ हुने अनुमान गरिएको छ।