असार २३, २०७९ बिहिबार

काठमाडौं: लगातार वर्षको तेस्रो ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका २२ पटकका ग्रान्डस्लाम विजेता स्पेनिस राफेल नाडाल विम्बल्डन टेनिसको अन्तिम चारमा प्रवेश गरेका छन्।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ३६ वर्षीय नाडालले अमेरिकन टेलर फ्रिट्जलाई ५ सेटको खेलमा पछि पार्दै सेमिफाइनल यात्रा तय गरेका हुन्। निर्णायक मानिएको पाँचौं सेटको टाइब्रुकरमा फ्रिट्जलाई ७-६ (१०-४) ले पछि पारेपछि नाडालले सेन्टर कोर्टमा आफुलाई पुन एकपटक उपाधि अभियानमा कायम राखे।

पछिल्लो समय स्वास्थ्यका कारण समस्या झेलिरहेका नाडाल निरन्तर फिजियोको निगरानीमा रहेका छन्। बुधबार राति भएको खेलमा नाडालले जित निकाल्ने क्रममा ३-६ ७-५ ३-६, ७-५ र ७-६ (१०-४) ले टेलरलाई पराजित गर्न सफल भए।

यसअघि नाडाल वर्षको सुरुवातमानै इन्डियन्स वेल्सको फाइनलमा फ्रिट्जसँग पराजित भएका थिए। तर बुधबार उनले ग्रान्डस्लाम अभियानमा भने आफूलाई पुनः लयमा ल्याएका थिए।

जितपछि अस्ट्रेलियन ओपन र फ्रेन्च ओपन जितिके नाडाल तेस्रो ग्रान्डस्लामको उपाधि भन्दा अब दुई जित टाढा छन्। नाडालले पछिल्लो पटक २०१० मा विम्बल्डनको उपाधि जितेका थिए।

अब फाइनल प्रवेशका लागि नाडालले  अस्ट्रेलियन निक किर्गियससँग प्रतिस्पर्धा गर्ने छन्। २७ वर्षिय किर्गियस पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनलमा प्रवेश गरेका हुन्। उनले चिलिका क्रिस्टियन ग्यरिनलाई ६-४, ६-३ र ७-६ (७-५) ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका थिए।

किर्गियस २००५ पछि विम्बल्डन टेनिसको सेमिफाइनल पुग्ने अस्ट्रेलियन खेलाडी समेत हुन्।