असार २४, २०७९ शुक्रबार

काठमाडौं । जापानमा ६७ वर्षीय पूर्वप्रधानमन्त्री शिन्जो अबेको निधन भएको छ । अबेलाई एक राजनीतिक चुनावी कार्यक्रममा सहभागी भएका बेला जापानको समयअनुसार आज (शुक्रबार) बिहान ११:३० बजे गोली हानिएको थियो ।

गोली लागेपछि उनलाई नजिकैको अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा निधन भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । जापानको पश्चिमी भाग नारामा चुनावीसभालाई सम्बोधन गर्ने क्रममा उनलाई पछाडिबाट गोली प्रहार गरिएको थियो । गोली लागेपछि उनलाई हृदयघात पनि भएको थियो ।

गोली चलाउने ४१ वर्षीय तेत्सुया यामागामी संदिग्धलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको बीबीसीले समाचारमा जनाएको छ । संदीग्ध आक्रमणकारी शिन्जो आबेसँग असन्तुष्ट थिए । गोली लागेपछि शिन्जो आबेलाई हेलिकोप्टरबाट नारा मेडिकल युनिभर्सिटी अस्पताल लगिएको छ । एनएचकेका अनुसार शिन्जो आबेको घाँटी र छातीमा गोली लागेको थियो ।

को हुन् आक्रमणकारी ?

जापानको समाचार एजेन्सी एनएचकेका अनुसार आक्रमणकारी ४१ वर्षीय तेत्सुया यामागामीको पहिचान भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीले प्रहरीलाई आफू आबेसँग असन्तुष्ट रहेको र उनलाई मार्न चाहेको बताएका छन् ।

आक्रमणकारी खैरो रंगको टि-सर्ट र ट्राउजरमा थिए। रक्षा मन्त्रालय स्रोतलाई उदृत गर्दै एनएचकेले भन्यो, ‘संदिग्ध व्यक्ति आत्मरक्षा बलका पूर्व सदस्य हुन् र हातले बनाएको बन्दुकले गोली हानेका थिए। सन् २००५ सम्म तिनले सेल्फ डिफेन्स फोर्समा तीन वर्ष सेवा गरिसकेका थिए ।’

शिन्जो आबेको सार्वजनिक सभामा एक ५० वर्षीया महिलाले समाचार एजेन्सी एनएचकेलाई भनिन्, ‘मैले आबेको भाषण सुनिरहेको थिएँ जब मैले हेलमेट लगाएको एक व्यक्तिलाई दुई पटक गोली हानेको देखें । दोस्रो गोली लागेपछि आबे लडेका थिए । त्यो व्यक्तिलाई तुरुन्तै पक्राउ गरियो। तुरुन्तै एम्बुलेन्स बोलाइयो र आबेलाई अस्पताल पठाइयो। आक्रमणकारी मेरो अगाडि उभिएको देखेर छक्क परें।’

डेमोक्रेटिक लिबरल पार्टीका अधिकारीहरू शिन्जो आबेसँगै सार्वजनिक सभामा गएका थिए । उनीहरुले पत्रकारलाई भने, ‘मानिसले १० मिटर टाढाबाट गोली हानेको थियो। कसैले पटाका फुकेको जस्तो देखिन्थ्यो । म अझै अचम्ममा छु कि यो मेरो आफ्नै हो। यति धेरै। मेरो अगाडि भयो। म पत्याउन सक्दिन। गोली हानेपछि पनि उनी शान्त थिए र भागेनन् ।’

जापानका राष्ट्रपति फुमियो किशिदाले शुक्रबार आक्रमणकारीको बारेमा भने, ‘हामीलाई आक्रमणकारीको आपराधिक पृष्ठभूमि थाहा छैन। प्रहरी अनुसन्धानपछि मात्र थाहा हुनेछ। हाम्रा लागि आक्रमणकारीको पृष्ठभूमि जानकारी धेरै महत्त्वपूर्ण छ।’

जापान संसारकै सुरक्षित मुलुकमध्ये मानिन्थ्यो। त्यहाँ बन्दुक बोक्न पाउने कानुन पनि निकै कडा छ।

लामो समयसम्म प्रधानमन्त्री भएका र अहिलेको सत्तारूढ दलमा पनि बलियो प्रभाव भएका आबेमाथि गोली प्रहार भएको घटनाले संसारको ध्यानाकर्षण भएको छ।