नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्न सैनिक मुख्यालय जंगी अड्डा पुगेका छन् ।
नेपाल–भारत सीमामा काँडेतार लगाउनुपर्ने अभिव्यक्ति दिएको चर्चा भएलगत्तै प्रधानसेनापति शर्मालाई भेट्न भारतीय राजदूत श्रीवास्तव शुक्रवार जंगी अड्डा पुगेका हुन् । प्रधानसेनापति शर्माले बिहीवार भएको एउटा बैठकमा सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने अभिव्यक्ति दिएको चर्चा चलेको थियो ।
प्रधानसेनापति शर्मा र राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ । सेनाले विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार भेटवार्ताका क्रममा उनीहरूबीच दुई देशबीचको हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ । सेनाले भेटघाटले दुई देशबीचको सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको जनाएको छ ।