काठमाडौँ, २४ असार । पूर्वप्रधानन्यायाधीश रामप्रसाद साहकी छोरी रेणुकुमारी साहको जागिर गएको छ । उनले योग्यता ढाँटेर न्यायाधीशमा नियुक्ति लिएको खुलेपछि उनीमाथि छानबिन भयो ।
उच्च अदालत दाङ तुलसीपुरको बुटवल इजलासकी साहले सीटीइभीटीको पूर्णकालीन कर्मचारी भएर उनले न्यायाधीश नियुक्ति लिएकि रहिछिन् । जब कि संविधानमा न्यायाधीश नियुक्तिका लागि निरन्तर कानून व्यवसाय गरेको हुनुपर्ने अनिवार्य व्यवस्था छ ।
रेणुकुमारीबारे छानविन भयो । जवाफ मागियो । चित्तबुझ्दो नभएको भन्दै साहलाई न्यायपरिषद् बैठकले बर्खास्तीको निर्णय गरेको छ ।
प्रधानन्यायाधीशसमक्ष शाहलाई बर्खास्त गर्न न्यायपरिषद्को बैठकले सिफारिस गरेको जनाइएको छ । न्याय परिषद् ऐन, २०७३ को दफा ३२ अनुसार योग्यता वा अयोग्यता लुकाई नियुक्ति लिएकोलाई सेवाबाट बर्खास्त गर्ने व्यवस्था छ ।
२० चैत्र २०७५ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले योग्यता नपुगे पनि साहलाई उच्च अदालतको न्यायाधीशमा नियुक्ति दिएका थिए ।