असार २५, २०७९ शनिबार

एनएफपीजे फुटसल प्रतियोगिताको उपाधि 'हाम्रो फुटसल पत्रकार' टिमले जितेको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगिताको उपाधि उक्त टिमले जितेको हो ।

स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ वटा टिम सहभागी थिए ।

नकआउट चरणमा खेलाइएको खेलको पहिलो चरणमा गोलाप्रथाबाट प्रतिस्पर्धा गराइएको थियो । 

प्रतियोगितामा पत्रकार ऋषि धमलाको टिम, शिलापत्र, गोरखापत्र, रासस, हाम्रो जन्मभूमि, नियात्रा टीभी, रेडियो पर्यावरण, फोटोपत्रकार संघ धादिङ, हाम्रो फुटसल टिम, गुरुङ पत्रकार संघलगायतको सहभागिता थियो । 

दोस्रो चरणमा जितेर आएका ६ टीमबीच प्रतिस्पर्धा गराइएको थियो । 

सेमिफाइनलमा धादिङ फोटो पत्रकार समूह टीम र एटजोन गुरुङ पत्रकार टीमबीच खेल भएको थियो । हाम्रो फुटसल पत्रकार टिमले बाइ पाएर सीधै फाइनलमा पुगेको थियो । 

सेमिफाइनलमा एटजोनलाई हराएर फाइनल पुगेको धादिङ टीमलाई ४-२ गोल अन्तरले हराउँदै हाम्रो फुटसल पत्रकार टीमले उपाधि हात पारेको हो । 

१५ मिनेटको खेलमा हाम्रो फुटसल टीमका बासु अवाल र आशिष पुडासैनीले २र२ गोल गरेका थिए । म्यान अफ दी म्याच बासु अवाल भए । 

उत्कृष्ट गोलकिपर धादिङ फोटोपत्रकार संघका श्रीकृष्ण भण्डारीले पाउन सफल भए ।

साथै संस्थाका अध्यक्ष प्रदीपराज वन्तले विजेताहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।