असार २६, २०७९ आइतबार

काठमाण्डौ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले देशको अर्थतन्त्रको माग र समयअनुसार मौद्रिक नीति आउने दाबी गर्नुभएको छ । 

आज आइतवार काठमाण्डौमा नेपाल उद्योग वाणिज्य महासङ्घले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले चुनौतीपूर्ण अर्थतन्त्र र बाह्य क्षेत्र व्यवस्थापन गर्ने गरी नीति आउने बताउनुभयो । 

गभर्नर वा निजी क्षेत्रको मागभन्दा पनि देशको अर्थतन्त्रको मागलाई सम्बोधन गरी मौद्रिक नीति ल्याउनुपर्ने उहाँले बताउनुभयो । उहाँले अर्थतन्त्रलाई स्थिर बनाउनुपर्ने अवस्था रहेको भन्दै अर्थतन्त्र अस्थिर भए समस्या आउने भएकाले अर्थतन्त्रलाई सुधार गर्ने गरी मौद्रिक नीति आउने स्पष्ट पार्नुभयो । 

गभर्नर अधिकारीले अहिलेको अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति ल्याउने विषयमा राष्ट्र बैंकको टिमले तथ्याङ्क विश्लेषण गरिरहेको बताउनुभयो । उहाँले निजी क्षेत्रले व्यवसाय सहज हुने गरी नीतिको अपेक्षा गर्नु राष्ट्र बैंकले स्वाभाविक रूपमा लिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिलेको अर्थतन्त्रको अवस्था सुहाउने मौद्रिक नीति ल्याउँदा हामी सबैले केही सहनुपर्ने हुन सक्छ । सहँदा अर्थतन्त्र ठिक ठाउँमा जान सक्छ भने सहन गाह्रो मान्नु हुँदैन । समय र अर्थतन्त्रको माग के हो रु त्योअनुसारको नीति आउने हो । गभर्नर महाप्रसाद अधिकारलाई दिमागमा जे लाग्छ त्यही मौद्रिक नीति आउने होइन । निजी क्षेत्रले के माग गर्नुहुन्छ, त्यो आउने होइन । नीतिमा राष्ट्र बैंक स्पष्ट छ । अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति ल्याउँदा कुनै पनि क्षेत्रलाई सम्बोधन गर्नुपर्ने हुन्छ ।’

गभर्नर अधिकारीले अर्थतन्त्र सुधार गर्दा सरकारको लक्ष्यअनुसार राजस्व सङ्कलन नहुने, व्यवसायीहरू केही मर्कामा पर्ने सङ्केत गर्नुभयो । उहाँले महासङ्घले दिएका सुझावलाई मौद्रिक नीतिमा समेट्ने प्रतिबद्धता जनाउनुभयो ।