चैत २२, २०७७ आइतबार

बङ्लादेशमा कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै  एक हप्ते लकडाउन घोषणा गरिएको छ ।स्थानीय समयअनुसार अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलन मार्फत लकडाउन घोषणा गरिएको जानकारी दिनुभएको हो ।

अत्यावश्यकलगायतका कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु हुन सक्ने अधिकारीहरुले बताएका छन् ।बङ्लादेशमा अहिलेसम्म छ लाख ३० हजार दुई सय ७७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये पाँच हजार ६ सय ८३ जना पछिल्लो एकैदिनमा संक्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा बङ्लादेशमा कोरोनाकै कारण मात्रै ५८ जनाको मृत्यु भएको छ । योसँगै बङ्लादेशमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या नौ हजार दुई सय १३ पुगेको अधिकारीहरुले जनाएका छन् ।

स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो एक दिनमा २४ हजार पाँच सय ४८ जनाको कोरोना परीक्षण गरेको जनाएको छ ।