काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा नयाँ कार्यसमिति चुनिएसँगै नेपालको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुटाइरीको निरन्तरताको विषयले निकै चर्चा पाएको छ । यसमा दुईवटा प्रश्न जोडिएका छन् । पहिलो के अल्मुटाइरी अब फर्केर आउलान्? दोस्रो, के एन्फाले उनलाई निरन्तरता देला रु प्रश्न जति चासोपूर्ण छ उत्तर अझै अनुत्तरित नै देखिन्छ।
सामान्य दृष्टिकोणले हेर्दा एकजना प्रशिक्षक राख्नु वा नराख्नु एन्फाले निर्णय गर्ने विषय हो । प्रशिक्षक फेर्नु विश्व फुटबलमा सामान्य घटना मानिन्छ । तर अल्मुटाइरीको विषय फरक छ । यसमा प्रशिक्षकको व्यवहार जोडिएको छ, एन्फाको राजनीति मिसिएको छ, छानबिन समितिको प्रतिवेदन पर्खिइएको छ, नवनियुक्त अध्यक्ष पंकज विक्रम नेम्बाङ र उनको सम्बन्ध जोडिएको छ अनि समग्रमा नयाँ निर्वाचित एन्फा कार्यसमितिको कार्यकुशलता समेत परीक्षामा परेको छ। सबै विषयको निचोडले अझै करिब दुई वर्ष बाँकी रहेको नेपाली फुटबलमा विवादास्पद बन्न पुगेका अल्मुटाइरीको कार्यकालको भविष्य तय गर्नेछ ।
चर्चामा अल्मुताइरी
अल्मुटाइरीले नेपाली फुटबल सम्हालेको एक वर्ष मात्रै भएको छ। तर यो अवधिमा उनी मैदान भित्र र बाहिर दुवै तर्फ चर्चाको पात्र बने । यस अवधिमा उनको टीमले १९ खेल खेल्यो। त्यसमा १३ खेलमा हार, ५ खेलमा जित र २ खेल बराबरीमा टुङ्गिएको छ । यस क्रममा नेपाली खेलाडीहरूले १९ गोल गरे । तर झण्डै दोबर- ३६ गोल खाएका छन् ।
समग्रमा विश्लेषण गर्दा उनको नेतृत्वमा नेपालको प्रदर्शन औसत मानिन्छ । त्यसमा नेपाललाई पहिलो पटक साफ च्याम्पियनशिपको फाइनलमा पुर्याउनु उनको सबैभन्दा ठूलो सफलता रह्यो । यसबाट उनी नेपालमा निकै चर्चित बने । कतिपयले नेपाली फुटबलले सफलताको उत्कर्षमा पुगेको विश्लेषण गरे ।
विश्लेषक सञ्जीव मिश्र भन्छन्, ‘विगतमा चार खेलबाट ७ अंक बटुल्दा नेपाल सेमिफाइनलमा मात्र पुग्थ्यो । यसपालि ५ राष्ट्रले मात्र भाग लिएका कारण नेपाल ४ खेलबाट ७ अंक जोडेर पनि फाइनलमा पुग्न सफल भयो । यथार्थ यही नै हो । त्यसैले विगतमा नेपालले कमजोर प्रतिस्पर्धा गरेको थिएन।’
अल्मुटाइरीको तारिफको अर्को पक्ष चाहिँ युवा खेलाडीहरूलाई मौका दिनु हो । १९ खेलमा उनले १५ जना युवा खेलाडीलाई राष्ट्रिय टोलीमा ‘डेब्यू’ गराइसकेका छन् । एक वर्षमै यति धेरै खेलाडीहरू भित्र रबाहिर हुनुले राष्ट्रिय टोलीमा उथल पुथल नै भएको थियो। यसले युवाहरूलाई उत्साहित बनायो भने त्यहाँ कोही पनि सुरक्षित छैनन् भन्ने सन्देश पनि । उनले थुप्रै समर्थकहरूको साथ पाएको कारण पनि यसैलाई मानिन्छ ।
तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङविरुद्ध सामाजिक सञ्जालमा सिधै असहयोगीको आरोप लगाएर अल्मुटाइरी फुटबल विवादको श्रृंखलामा प्रवेश गरेका हुन् । त्यसपछि पनि उनी एकपछि अर्को विवादमा पर्दै आएका छन् । जसमा अधिकांश विवाद आफैले सृजना गरेको देखिन्छ ठान्नेहरू प्रशस्त छन्।
छानबिन समितिको प्रतिवेदन
प्रशिक्षक पदबाट राजीनामा दिन्छु भनेर उनले तीन पटकसम्म सार्वजनिक रूपमा बोले। तर कहिल्यै दिएनन् । जसमा सबैभन्दा संवेदनशील समय साफ च्याम्पियनशिपको फाइनल खेल अगाडिको पत्रकार सम्मेलन थियो । खेलाडीहरू फाइनल खेल्न मैदान छिर्नु अगाडि उनले ‘अव म नेपाल फर्किन्न’ भनेर पत्रकार सम्मेलनमा घोषणा गरेका थिए ।
एउटा राम्रो प्रशिक्षकले छिट्टै राष्ट्रिय टोली छोड्न लागेकोमा उनका समर्थकहरू निराश भएका थिए । तर त्यो एउटा नाटकमात्र साबित भयो किनभने उनले राजीनामा दिएनन् । बरु त्यसपछि उनी थप तीन वर्षका लागि एन्फासँग अनुवन्धित भए, पहिलेको भन्दा राम्रो रकममा । अल्मुटाइरीसँग जोडिएको कान्डमा एन्फा र राष्ट्रिय खेलकुद परिषद्ले समेत छानबिन समिति नै गठन गर्नुपरेको थियो ।
राखेपको छानबिन रिपोर्टमा उनलाई आफ्नो भूमिकामा केन्द्रित हुन सुझाव दिँदै सामाजिक सञ्जालमा नअल्झिन सुझाव दिइएको थियो । यद्यपि उक्त छानबिन समितिको रिपोर्ट कार्यान्वयनमा आएन । पछिल्लो कान्ड उनले राष्ट्रिय टोलीका १० खेलाडीलाई एकसाथ टोलीबाट बाहिरिने ‘आदेश’ दिएपछि आएको हो ।
पहिलो रोजाइका १० खेलाडी र उनीहरूको पक्षमा बोलेको भन्दै कप्तान किरण चेम्जोङ गरी ११ जना पहिलो रोजाई ९अधिकांश० लाई टीमबाट हटाइयो । यसकै लागि बनेको छानबिन कमिटीको कठघरामा अहिले अल्मुटाइरी उभिएका छन् । छानबिन समितिले पनि एन्फालाई अल्मुटाइरीको विकल्प खोज्न एन्फालाई सुझाव दिइसकेको छ ।
अल्मुटाइरीको सम्भावित कदम
अल्मुटाइरीले एन्फामा नयाँ नेतृत्व आएपछि आफू नेपाल नआउने आशय सामाजिक सञ्जालमा व्यक्त गरे । ‘हरेक कुराको अन्त्य हुन्छ’ कर्मा छिरिङ शेर्पा पराजित भए लगत्तै उनले यस्तो अभिव्यक्ति सार्वजनिक गरे । केही समयपछि त्यसलाई मेटाए पनि । तीन महिना बिदामा बसेका अल्मुटाइरीको नेपाल फर्किने वातावरण अनुकूल पनि देखिएको छैन ।
पहिलो कुरा एन्फाको बागडोर अहिले नेम्वाङको हातमा छ, जोसँग अल्मुटाइरीको ठूलै विवाद चलेको थियो । अर्को उनले कर्मा छिरिङ शेर्पाबाहेक अर्को नेतृत्वसँग काम नगर्ने बताइसकेका छन् । फेरि एन्फाको पहिलो कार्यसमितिको बैठकले उनले हटाएका १० खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गर्ने निर्णय गरिसकेको छ ।
कुवेतमा रहेका अल्मुताइरी नेपाल फर्किएलान्?
राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक ध्रुव केसी भन्छन्, ‘उनी फर्किनु नै बुद्धिमानी हुन्छ। यहाँ आएर आफ्नो अडान कायम राख्नुपर्छ ।’ अल्मुटाइरीको पछिल्लो सामाजिक सञ्जालमा फेरिएको स्ट्याटसले पनि त्यही संकेत गरेको देखिन्छ । उनले आफ्नो अबको लक्ष्य सन् २०२६ को विश्वकप छनोट, २०२७ को एसियन कप छनोट र साफ च्याम्पियनसिप २०२३ रहेको लेखेका छन् ।
के गर्ला एन्फा ?
एन्फाको निर्वाचनपछिको पहिलो कार्यसमिति बैठकले १० खेलाडीलाई राष्ट्रिय टोलीमा बोलाउने निर्णय त गर्यो तर प्रशिक्षकको बारेमा निर्णय गर्न हतार गरेन । एन्फासँग विकल्पहरू छन् । पहिलो छानबिन समितिको सुझाव कार्यान्वयन गर्दै अल्मुटाइरीको विकल्प खोज्ने ।
तर त्यसो गर्ने हिम्मत एन्फा पदाधिकारीहरूमा नहुन सक्ने बताउनेहरू पनि छन् । किनकि अल्मुटाइरी कतार फुटबल संघले पठाएका प्रशिक्षक हुन् । कतार अहिले नेपाली फुटबलको बलियो सहयोगी संस्था हो । जोसँग एन्फा सम्बन्ध बिगार्न चाहँदैन । सहिद स्मारक ए डिभिजन लीगमा डेढ करोड रुपैयाँको प्रायोजन, कतारमा प्रो लाइसेन्स कोर्सको सुविधा, खेलाडीहरूको उपचार, बन्द प्रशिक्षणको व्यवस्थामा कतारले मद्दत गर्दै आएको छ।
मिश्र भन्छन्, ‘कतारसँग सम्बन्ध बिग्रिए ए डिभिजन लिग जस्तो ठूलो प्रतियोगिताको आयोजनामा असर पर्न सक्छ। हिजोको दिनमा शेर्पा मौन बस्नुको कारण पनि त्यही नै त थियो ।’ एन्फासँग भएको अर्को विकल्प भनेको विगतलाई बिर्सिनु हो । एन्फा अध्यक्ष नेम्वाङले त्यसको छनक पनि देखाइसकेका छन् । उनले भने, ‘म विगत बिर्सिएर सहमतिमा अगाडि बढ्न चाहन्छु। उनले विगतमा गल्ती गरेकै हो । अब सच्चिनुपर्छ।’
एन्फा महासचिव किरण राई पनि त्यही बाटोमा छन् । उनी भन्छन्, ‘हामीले सम्पर्क गर्यौँ । उनी अहिले बिरामी छन् र आराम गरिरहेका छन्। त्यसैले हामीले केही कुरा अगाडि बढाएका छैनौँ ।’ अनि छानबिन कमिटीको सुझाव के हुन्छ रु महासचिव राई भन्छन् , ‘यसबारे एन्फा पदाधिकारीहरूबीच छलफल हुन्छ र हामी एउटा निर्णयमा पुग्नेछौँ ।’ एन्फाको आगामी बैठक श्रावण २ गते बस्दै छ।(बीबीसी_