राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टाहरूलाई पुरस्कृत गरेकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलवार आयोजित एक समारोहबीच राष्ट्रपति भण्डारीले २०७७ र २०७८ सालको पुष्पलाल पुरस्कार विभिन्न ६ स्रष्टालाई प्रदान गरेकी हुन् ।
विक्रम संवत् २०७८ सालको पुष्पलाल राष्ट्रिय पुरस्कारअन्तर्गत राजनीतिकरसैद्धान्तिक विषयमा भोजपुरका घनेन्द्र बस्नेत, इतिहास विषयमा काठमाडौंका डा. ढाकाराम सापकोटा र साहित्य, संस्कृति, विज्ञान विषयमा जगन्नाथ आचार्यलाई पुरस्कृत गरिएको छ ।
२०७७ सालको राजनीतिक/सैद्धान्तिक विषयमा काठमाडौंका मोहनचन्द्र अधिकारी, इतिहास विषयमा मोरङका प्रा.डा. कृष्णप्रसाद पोखरेल र साहित्य, संस्कृति, विज्ञान विषयमा रोल्पाका पवित्रा घर्तीलाई पुरस्कृत गरिएको छ ।
पुरस्कारको राशि नगद १ लाख रुपैयाँ र सम्मानपत्र रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । नेपालको राजनीतिक आन्दोलन तथा सैद्धान्तिकरराजनीतिक खोज अनुसन्धान र लेखन कार्यमा लागेका व्यक्ति वा संस्थालाई तथा नेपाली समाजको इतिहास, नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास, साहित्य, संस्कृति, विज्ञान विषयमा पुरस्कार प्रदान गर्दै आएको छ ।
सरकारले आर्थिक वर्ष २०६८/६९ को नीति तथा कार्यक्रम र सोही वर्षको बजेट वक्तव्यमा पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको र सोहीबमोजिम हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्रष्टालाई प्रदान गरिँदै आएको मन्त्रालयले जनाएको छ ।
समारोहमा पूर्वप्रधानमन्त्री एवं पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सामाजिक जनचेतनाका अभिवृद्धिका लागि खोज अनुसन्धानमा सक्रिय व्यक्तिलाई दिइँदै आएको पुरस्कार राज्यले अपनत्व ग्रहण गर्दै हरेक वर्ष राष्ट्रियस्तरमा योगदान गर्ने व्यक्तिलाई पुरस्कृत गर्दै आएकोमा स्रष्टाप्रति सम्मान र सिर्जनामा प्रोत्साहन मिलेको उल्लेख गरेका छन् ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय राजनीतिक सामाजिक जीवन, इतिहास, साहित्य, विज्ञान लगायत क्षेत्रमा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान गर्नु राज्यको दायित्व रहेको भन्दै मन्त्रालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।