मुगु — अधिकांश सिमाना चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको मुगुको मुगमकार्मारोङ गाउँपालिकाको व्यापारिक र अन्य कुनै स्थायी सम्बन्ध भने छैन । पारि पूर्वाधार छ, समृद्धि छ, वारि नेपालतिर भने स्थानीय गरिबीको दुश्चक्रमा फसेका छन् ।
पूर्वाधार अभाव छ । गाउँपालिकाको झन्डै ८५ किलोमिटर क्षेत्र चीन सीमाले छुन्छ । ‘चीनतिर सबै सुविधा छ, समृद्धि नै समृद्धि छ,’ स्थानीय सुन्दकडोल्मा लामाले भने, ‘हामीलाई त साँझ–बिहानकै छाक टार्न मुस्किल भयो, वर्षौंदेखि कष्टकर दैनिकी काटिरहेका छौं ।’
नेपाली सीमा क्षेत्रतिर अहिले यातायातको साधनका रूपमा घोडा खच्चड हिँड्छन् भने चीनतिर पक्की सडकमा मोटरहरू गुडिरहेका हुन्छन् । ‘तिब्बतले हामीलाई खाद्यान्नको सहयोग गरिदेओस् भन्ने आशा छ,’ सेरोगगाउँका छेवाङग्याल्जन तामाङले भने, ‘धनीराष्ट्रका छिमेकी हामी गरिबीको मारमा छौं ।’ तिब्बतले सीमावर्ती गाउँपालिका भएकाले मुगमकार्मारोङलाई ३ वर्षअघिसम्म करिब ३५ लाख मूल्यको खाद्यान्न उपलब्ध गराउँदै आएको थियो । कोरोना महामारी सुरु भएपछि सहयोग दिन बन्द भयो ।