बागमती प्रदेश सरकारले पहिरो प्रभावितलाई १ लाख ११ हजार रुपैयाँको राहत सामग्री वितरण गर्न करिब २८ लाख रुपैयाँ हेलिकोप्टर भाडा तिरेको पाइएको महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा उल्लेख छ । महालेखाका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सिन्धुपाल्चोकको लिदीमा ०७७ साउन २६ गतेको पहिरो प्रभावित परिवारलाई दाल, चामल, स्वास्थ्य सामग्रीलगायत राहत वितरण गर्न १२ पटक नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिएको छ ।
तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसहित सिन्धुपाल्चोक पुगेको मन्त्रीहरूको टोलीले हेलिकोप्टर भाडाबापत ३ घण्टा १५ मिनेटको २५ लाख ६८ हजार रुपैयाँ भुक्तानी गरेको छ । एक निजी वायुसेवा कम्पनीको हेलिकोप्टर पनि तीन पटक प्रयोग भएको प्रतिवेदनमा उल्लेख छ । उक्त हेलिकोप्टर प्रयोगबापत ३ लाख रुपैयाँ भुक्तानी भएको छ ।