काठमाडौँ — नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा शनिबार नामिबियाको सामना गर्दै छ । लिग २ मा पाँचौं शृंखला खेलिरहेको नेपाल सोमबार नामिबियासँग ४० रनले पराजित भएको थियो भने बुधबार नेपालले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो ।
नामिबियासँग २१ वर्षयता पहिलो हार बेहोरेको नेपाल त्यसपछि अर्को खेलमा स्कटल्यान्डलाई इतिहासमै पहिलो पटक पराजित गर्न सफल भयो । नामिबियासँग फेरि एक पटक फितलो ब्याटिङ गरेको नेपाल २ सय २० रनको लक्ष्य लिएर आउँदा ४७ ओभरभित्र १ सय ८० रनमा अलआउट भयो ।
दोस्रो खेलमा स्कटल्यान्डलाई उसैको भूमिमा १ सय ४४ रनमा अलआउट गर्दै नेपालले उक्त लक्ष्य २५.१ ओभरमा पूरा गरेको थियो । नेपालले लिग २ मा शीर्ष तीनको लक्ष्य बनाए पनि नामिबियासँग महत्त्वपूर्ण मानिएको पाँचौं स्थानका लागि कडा प्रतिस्पर्धा गरिरहेको छ ।
समान ३६ खेल खेलेपछि लिग २ को शीर्ष ३ मा पर्ने टोलीले २०२३ को जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छ । शीर्ष ३ सँगै लिग २ को चौथो र पाँचौं स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्दै प्लेअफबाट विश्वकप छनोटमा पुग्न सक्नेछ ।
नेपाल १८ खेलमा १७ अंकसहित पाँचौं स्थानमा छ । नामिबिया १७ खेलमा १६ अंकसहित छैटौं स्थानमा रहेर नेपाललाई पछ्याइरहेको छ । नेपाललाई हराएपछि नामिबिया पाँचौं स्थानमा उक्लेको थियो । तर स्कटल्यान्डलाई अर्को खेलमा पराजित गर्दै नेपाल पुनः पाँचौं स्थानमा उक्लेको हो ।
नामिबियामाथि जित हात पारेमा नेपालले चौथो स्थानको अमेरिकासँगको दुरी छोट्याउने छ । ओमान सबै ३६ खेल खेलेर ४४ अंकका साथ शीर्षस्थानमा छ । स्कटल्यान्ड २३ खेलमा ३२, यूएई २२ खेलमा २६, अमेरिका २४ खेलमा २३ अंकका साथ क्रमशः दोस्रोदेखि चौथो स्थानमा छ ।
नामिबियालाई पराजित गर्न नेपालले ब्याटिङमा उल्लेखनीय सुधार गर्नुपर्ने हुन्छ । ओपनर कुशल भुर्तेलले ठूलो इनिङ्स खेल्न सकिरहेका छैनन् भने दीपेन्द्रसिंह ऐरीले लिग २ को १४ खेलमा १ सय रनमात्र बनाउन सकेका छन् । उनी नामिबियाविरुद्ध ४ र स्कटल्यान्डविरुद्ध ३ रनमा आउट भएका थिए । नामिबियाविरुद्ध कुशल र दीपेन्द्रमाथि राम्रो ब्याटिङ प्रदर्शन गर्न ठूलो दबाब हुनेछ ।