रक्सौलको भेलाही सिमानाको कुकुहियाँ गाउँमा बिहीबार बिहान कपडा तस्कर र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच झडप भएको छ ।
तस्कर समूहले एउटा पिकअप गाडी, ५ वटा ठेला र ४ वटा साइकलमा कपडा लोड गरी विहारको भेलाही नाका हुँदै अवैध रूपले नेपाल पठाउने क्रममा एसएसबीका जवानले नेपाल–भारत सिमानाभन्दा ५० मिटर भारततर्फ रोकेका थिए ।
३ जना तस्कर, २८ पोका कपडा, ठेला र बीआर ०६ जी ९७१९ नम्बरको पिकअप गाडीलाई एसएसबीले नियन्त्रणमा लिएपछि करिब चार दर्जनको संख्यामा आएका तस्करहरूले एसएसबीमाथि आक्रमण गरेको बताइएको छ । स्थितिलाई नियन्त्रणमा लिन एसएसबीले हवाई फाइरिङसमेत गर्नु परेको थियो । झडपमा एसएसबीका ३ जना जवान घाइते भएका छन् ।