२०७८ साउनदेखि २०७९ असार मसान्तसम्ममा काठमाडौँ उपत्यकाका ३ जिल्लामा ट्राफिक प्रहरीले एक वर्षमा ५ लाख ४ हजार सवारी साधनलाई कारवाही गरेको छ । कारवाहीबापत ३३ करोड १३ लाख राजस्व संकलन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी मीरा चौधरीले सोमबार आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिएकी छिन् ।
गत आर्थिक वर्षमा धेरै भाडा लिएको कसुरमा १० हजार २९५ सवारीसाधन कारवाहीमा परेका छन् । उपत्यकाबाट नियन्त्रणमा लिइएका कागजात जरिवाना तिरेर ३० ठाउँबाट लिन सकिनेगरी प्रविधि विस्तार गरिएको छ । गत आर्थिक वर्षमा १० ठाउँमा 'किअस्क' मेशिन जडान गरिएको छ ।
काठमाडौं उपत्यकामा दैनिक १७ लाख सवारी साधन गुड्छन् । तर, उपत्यकामा जम्मा १६ सय ट्राफिक प्रहरी कार्यरत रहेको डीआईजी चौधरीले बताइन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्,‘१६ सय ट्राफिकले दैनिक १७ लाख सवारी व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।’
ट्राफिक व्यवस्थापनका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका २२ ठाउँमा २४ घण्टा प्रहरी परिचालन गर्न थालेको छ । ३ सय २६ ठाउँमा अस्थायी ड्युटीमा प्रहरी परिचालन गरिएको छ । एकजना ट्राफिक प्रहरीले दैनिक १० घण्टा ड्युटी गर्ने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।