काठमाडौँ — अफ्रिकी मुलुक घानामा इबोलाजस्तै संक्रामक घातक मार्बर्ग भाइरसको संक्रमण पुष्टि भएको छ । घानाका स्वास्थ्य अधिकारीहरूका अनुसार मार्बर्ग भाइरस दुई जनामा पुष्टि भएको हो । मार्बर्ग पोजिटिभ पुष्टि भएका दुवै जनाको मृत्यु भएको पनि अधिकारीहरूले जनाएका छन् ।
घानाको दक्षिणी अशान्ती क्षेत्रका ती दुई जनामा झाडापखाला, ज्वरो, रिँगटा तथा वाकवाकीको लक्षण देखिएको डब्लूएचओले जनाएको छ ।
पश्चिम अफ्रिकामा मार्बर्ग भाइरस देखिएको यो दोस्रो पटक हो ।
मार्बर्ग एक प्रकारको चमेरोबाट मानिसमा सर्छ । त्यस्तै संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थबाट पनि सर्ने गर्छ ।
डब्लूएचओका अनुसार मार्बर्गको संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरीरका मांशपेसी दुख्ने, बान्ता हुने र रक्तश्रावका लक्षण देखिन्छन् । यो रोगको अहिलेसम्म कुनै उपचार विधि पत्ता लागेको छैन तर चिकित्सकहरू प्रशस्त पानी पिउने र केही लक्षणअनुसारको उपचार गर्दा भने बिरामी बाँच्ने सम्भावना बढी हुने बताउँछन् ।
अहिलेसम्म मार्बगबाट कहाँ कति मृत्यु ?
घाना, सन् २०२२ : २ जनामा संक्रमण पुष्टि, २ कै मृत्यु
युगान्डा, सन् २०१७ : ३ जनामा संक्रमण पुष्टि, ३ को मृत्यु
युगान्डा, सन् २०१२ : १५ जनामा संक्रमण, ४ को मृत्यु
अंगोला, सन् २००५ : ३७४ जनामा संक्रमण, ३२९ को मृत्यु
कंगो, सन् १९९८-२००० : १५४ जनामा संक्रमण, १२८ को मृत्यु
जर्मनी, सन् १९६७ : २९ जनामा संक्रमण, ७ को मृत्यु
स्रोत : विश्व स्वास्थ्य संगठन