सरकारले ६८ वर्ष उमेर पुगेको नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया शुरू गरेको छ । चालु आर्थिक वर्षबाट वृद्धभत्ता पाउने उमेर घटाएर ६८ बनाइएको हो । यसअघि ७० वर्ष उमेर पूरा भएकाले मात्र वृद्धभत्ता पाउने गरेका थिए ।
गृहमन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै ६८ वर्ष उमेर पुगेका वृद्धवृद्धाको विवरण संकलन गर्न भनेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै स्थानीय तहलाई परिपत्र गर्दै पहिलोपटक भत्ता पाउन लागेका नागरिकको विवरण संकलन गर्न भनेको हो ।
विभागले यसअघि भत्ता पाइरहेका नागरिकको परिचयपत्र असोज मसान्तभित्र नवीकरण गराउन भनेको छ । अघिल्लो आर्थिक वर्षहरूमा कात्तिक मसान्तभित्रमा लाभग्राही आफैँ कार्यालयमा उपस्थित भई परिचय पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकामा चालु वर्षदेखि त्रैमासिक रूपमा भत्ता वितरण गरिने भएकाले पहिलो त्रैमासिक (असोज)भित्रै परिचयपत्र नवीकरण गर्न भनेको हो ।
यसअघि सरकारले सामाजिक सुरक्षा भत्ता चौमासिक रूपमा वितरण गर्दै आएको थियो ।