साउन ४, २०७९ बुधबार

काठमाडौं: ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड-१९ महामारीका कारण स्थगित गरिएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताको नयाँ मिति घोषणा गरेको छ। केही महिनाअघि हाङझोउमा यही सेप्टेम्बरमा आयोजना गर्ने प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको थियो।​

ओसिएले चिनियाँ आयोजकसँगको सहमतिमा नयाँ मिति तय गरेको हो। अब १९ औँ एसियाली खेलकुद प्रतियोगिता हाङझोउमा २०२३ को २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म हुने छ। यसअघि २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हाङझोउमा एसियाली खेलकुदको महाकुम्भका रुपमा रहने एसियाड हुने कार्यतालिका रहेको थियो।

कोभिड १९ को विश्वव्यापी महामारीको कारण देखाउँदै आयोजक चीनले ओसिएको सहमतिमा नै प्रतियोगिता स्थगित गरेको थियो। निर्धारित मितिमा नगर्ने निर्णयसँगै ओसिएको कार्यकारी समितिले गत मे ६ मा नयाँ मिति तय गर्नका लागि विशेष टास्क फोर्स बनाएको थियो।

टास्क फोर्सले पछिल्लो दुई महिनामा चिनियाँ ओलम्पिक कमिटी, हाङझोउ एसियाली खेलकुद आयोजक कमिटी, चीन सरकार र अन्य सरोकारवालासँगको चरणबद्ध छलफलपछि अन्य ठूला खेल प्रतियोगिताहरूसँग पनि समय नजुध्ने गरी मिति तय गरेको जनाएको छ।