काठमाडौं: इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका ६२ रनले विजयी भएको छ।
३३४ रनको लक्ष्यसहित मैदान उत्रिएको घरेलु टोली इंग्ल्याण्ड ४६ दशमलव ५ ओभरमा २७१ रनमा अलआउट भएको थियो। इंग्ल्याण्डका जोय रुटले ८६, जोन्नी बेरिष्टोले ६३ तथा ज्यासन रोयलले ४३ रन बनाए। अफ्रिकाका एनरिच नोर्चेले चार विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको अफ्रिकाले निर्धारित ओभरमा रस्सी भान डेर डुसानको शतकीय इनिंग्ससँगै ३३३ रन बनाएको थियो। डुसान १३४ रन बनाउँदै पेभेलिएन फर्के।
त्यस्तै एडिएन मारक्रमले ७७ तथा जानेमन मलानले ५७ रन जोडे। इंग्ल्याण्डका लायम लिभिङस्टोनले दुई विकेट हात पारे। जितसँगै तीन खेलको एक दिवसीय शृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ।