ललितपुर महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ६ अर्ब ३५ करोड ३५ लाख तीन हजार बराबरको बजेट पारित गरेको छ ।
महानगरले चालू वर्षका लागि स्थानीय तह निर्वाचन २०७९ पछि नगरसभामा सहजीकरण गर्न र योजना तर्जुमा प्रकृयामा क्षेत्रगत संलग्नताको कानूनी व्यवस्थाबमोजिम विभिन्न सातवटा समिति गठन गरेको छ । यस्तै, महानगरपालिकाले अघिल्लो कार्यकालमा पूरा हुन बाँकी रहेका आयोजनालाई निरन्तरता दिनेगरी प्राथमिकतामा राखेको छ ।
सांस्कृतिक नगर भएकाले महानगरपालिकाभित्रका मूर्त र अमूर्त सम्पदा संरक्षणलाई उच्च प्राथमिकतामा राखिएको छ । यसैगरी, चक्रपथको ललितपुर खण्डमा स्मार्ट सडक बत्ती, साइकल लेन, पोखरी संरक्षण र पुनर्निर्माण लगायतका योजनाहरू प्राथमिकतामा राखेका छ ।
यसका साथै महानगरपालिकाले चालू आर्थिक वर्षमा केही नयाँ र पृथक् कार्यक्रमहरू समेत कार्यान्वयनमा ल्याउने बताइएको छ । चालू आर्थिक वर्षका लागि ल्याइएको कूल बजेटमध्ये संघीय सरकारबाट सर्सत अनुदानबाट ३ अर्ब ९६ करोड रुपैयाँ जुटाइएको छ । यस्तै, प्रदेश सरकारबाट ६५ करोड ९४ लाख रुपैयाँ सर्सत अनुदान, २९ करोड ९८ लाख ४ हजार अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट लिइएको छ ।