काठमाडौं: स्पेनलाई पराजित गर्दै घरेलु टोली इंग्ल्याण्ड महिला युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
गएराति पहिलो क्वाटरफाइनलको पहिलो खेलमा स्पेनलाई २–१ ले हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो।
ब्राइटनस्थित एमेक्स स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेन स्तब्ध हुन पुग्यो। खेलको ५४ औं मिनेटमा एस्तर गोञ्जालेजको गोलमार्फत स्पेनले सुरुवाती अग्रता लिएको थियो। ८४ औं मिनेटमा एला टुनले इंग्ल्याण्डलाई १–१ को बराबरमा ल्याएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो।
अतिरिक्त समयको छैटौं (९६ औं) मिनेटमा जर्जिया स्टेनवेले गोल गरेपछि घरेलु टोली २–१ को जित निकाल्यो।
प्रतियोगिता अन्तरगत आज दोस्रो क्वाटरफाइनलमा जर्मनी र अष्ट्रियाबीच खेल हुने छ।