साउन ५, २०७९ बिहिबार

सवितु:

एमाले नेत्री तथा सांसद नवीना लामाले संसद्मा बोल्दा शुद्धसँग नेपाली उच्चारण गर्न नसकेको भाइरल भिडियो ताजै छ ।

नवीनाको मातृभाषा नेपाली होइन, त्यही भएर शुद्धसँग बोल्न नसकेको भनेर हावादारी कुरा गरेर उनको बचाउमा केही व्यक्तिहरूले सामाजिक सञ्जाल रङ्ग्याइरहेका छन् । 

केही वर्षअघि फिलिपिन्समा सुनामी आउँदा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अङ्ग्रेजी भाषाको ज्ञानको अभावले फिलिपिन्सका राष्ट्रपतिलाई 'Condolance' पत्र पठाउनुपर्ने ठाउँमा 'Congratulation' पत्र पठाउँदा देशको बेइज्जती भयो । केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदा प्रधानमन्त्री शेरबहादुर देउवाको व्यवहारले देशलाई नै लज्जित तुल्याएको थियो । प्रधानमन्त्री देउवालाई रुघा लागेको थियो, सिँगान चुहाउने रोग र समस्या छ भनेर चोख्याउन मिल्छ ?

राजनितीसँग कुटनिती अनिवार्य रूपले जोडिएको हुन्छ । त्यसैले हरेक राजनीतिज्ञ कुटनीतिबारे अनिवार्य रूपले जानकार हुनुपर्छ र भाषाका बारे पनि अनिवार्य जानकार हुनुपर्छ । किनभने कुटनीतिमा प्रत्येक शब्दको गहीरो अर्थ हुन्छ । नेपाली पक्षका मन्त्री - प्रधानमन्त्री इलेक्ट्रीसिटीको सन्दर्भमा युनिट, वाट, मेघावाटबीचको भेउ नजान्दा टनकपुर सन्धिमा नेपाल नराम्ररी ठगिएको थियो । भारतले युनिटका हिसाबमा विद्युत् बाँडफाँडको हिसाब देखाएर नेपालका नेताहरूलाई नचाइदियो । विधायिकाको काम देशको कानुन बनाउने हो  । कानुनमा भाषागत रूपले एक अक्षरको त्रुटिले मात्र पनि फरक पार्छ । अनि यस देशको कानुन नेपालीमा लेखिने कुरा संविधानमा निर्दिष्ट छ ।

नागरिकले तिरेको करबाट तलब-भत्ता, सेवा-सुविधा लिएर देशको मूल भाषा जान्दिनँ , बुझ्दिनँ भन्ने छुट पाइँदैन । राजनीति गर्नेको जीवन सार्वजनिक हुन्छ, उसको व्यवहार र सोच अनि प्रवृत्तिसँग देशको सम्पूर्ण नागरिकको भविष्य जोडिएको हुन्छ । यस्तै हो भने यदि उनले कुनै दिन मन्त्री पड्काइन् भने उनका सामु नेपालीमा लेखेर राखेको बदनियतपूर्ण फाइलमा त उनले सहजै हस्ताक्षर गरिदिन्छिन् । भाषाप्रति संवेदनशील हुनुपर्‍यो । मातृभाषा डोटेली भएकाहरू राना-थारू भाषा फरर बोल्न सक्छन्, कहिल्यै भारत नगएकाहरू फरर हिन्दी बोल्न जान्दछन् । यतिसम्म कि रोजगारीको सिलसिलामा भारतको मुम्बई र बेङ्लोरमा २ महिना बसेर आएका साथीहरू त्यहाँको भाषा फरर बोल्छन् । मलेसिया, कतार गएका साथीहरू तेस्रो महिनादेखि हामीलाई त्यहाँको भाषाका शब्द सिकाउन सुरु गर्छन् । झन् नेपाली समाज त वैविध्य हो । एकै ठाउँमा एकै भाषा बोल्ने मान्छे पछिल्लो समयमा कुन ठाउँमा छन् ?

नेपाली भाषा आम नेपालीको सम्पर्क भाषा रहेको यथार्थ हो । केही अभियन्ता जसले अहिले मातृभाषाप्रति माया दर्शाइरहेका छन् यिनै व्यक्ति सरकारले इम्बोस्ट नम्बर प्लेट अङ्गेजीमा राख्दा चाहिँ चुइक्क बोलेका छैनन् । जबकि संविधानले नै सरकारी कामकाजको भाषा देवनागरी लिपिमै हुने भनेको छ ।

विद्यालयतहमा मातृभाषामा पढाउनेभन्दा बरु अङ्ग्रेजीलाई शैक्षिक गुणस्तरको मापदण्ड पनि यिनैले मानिरहेका छन् । तर फेरि यिनैले अन्य मातृभाषाका कारण नेपाली भाषा बोल्न जानिएन भनिरहेका छन् । विद्यालयमा मातृभाषामा पढ्न पाउनेगरी कानुन बनाउन किन सक्दैनन् ?   मातृभाषालाई खतम गराउन र नेपाली भाषामाथि षडयन्त्र बुन्ने काम सरकारी तवरबाटै भएको छ । नेपालमा हुने जनगणनाले त्यसलाई थप पुष्टि गर्दछ । नेपालीबीचमा सम्पर्क भाषाका रूपमा स्थापित नेपाली भाषाको थप उन्नयन गर्दै अन्य भाषाहरूको पनि संरक्षणमा राज्यले ध्यान दिनुपर्छ ।

नत्र यहाँको भाषा खतम पारेर घानाको जस्तो अवस्था यहाँ नआउला भन्न सकिन्न ! यसकारण भाषाप्रति संवेदनशील हुनैपर्छ ।