साउन ५, २०७९ बिहिबार

काठमाडौं: नेपाल चेम्बर अफ कमर्सले पुँजी बजारको विकासका लागि सरोकारवाला सरकारी निकायमा विभिन्न नीतिगत सुझाव पेश गरेको छ।

चेम्बरले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक एवं नेपाल धितोपत्र बोर्डलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेश गरेको हो। पुँजी बजार स्थिरता तथा लगानीमैत्री वातावरण सिर्जनाका लागि चेम्बरका तर्फबाट विभिन्न सुझाव पेश गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए।

विभिन्न कारणले पछिल्लो समय पुँजी बजार धराशयी बन्दै गएको एवं लगानीकर्ताहरू निकै समस्यामा परेकाले समाधानका लागि सरोकारवाला तीन वटै निकायमा छुट्टाछुट्टै सुझाव पेश गरिएको अध्यक्ष मल्लको भनाइ छ।

धितोपत्र बजारबाट पुँजी निर्माणमा प्रोत्साहन हुने गरि अन्तरराष्ट्रिय स्तरमा प्रचलनमा रहेबमोजिम विभिन्न कोषहरू सञ्चालनका लागि कर सम्बन्धमा यथोचित व्यवस्था गर्न चेम्बरले अर्थ मन्त्रालयसँग आग्रह गरेको छ। धितोपत्रका विभिन्न औजारहरू कारोबारमा ल्याउँदा सोबाट हुने लाभमा कर लाग्ने व्यवस्था गर्दा लावान्वितले लिइने व्यवस्था गरि धितोपत्र औजारको विविधीकरणलाई प्रोत्साहन गर्न पनि चेम्बरले सुझाव दिएको छ।

चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकलाई पनि छुट्टै तीनबुँदे सुझाव दिएको छ। मौद्रिक नीति सार्वजनिक गर्नुअघि पुँजी बजारलाई सम्बोधन गर्नुपर्ने विषय समावेश गरिएको अध्यक्ष मल्लले बताए।

चेम्बरले धितोपत्र बोर्डलाई छुट्टै १० बुँदे सुझाव पेश गरेको छ। अन्तरराष्ट्रिय प्रचलनबमोजिम धितोपत्र बजारसँग सम्बन्धित सम्पूर्ण नीतिगत, कार्यगत तथा प्रणालीगत सुधार गर्नुपर्ने चेम्बरको सुझावमा उल्लेख छ।

धितोपत्र बजारका पूर्वाधारको उचित व्यवस्था गरि अन्तरराष्ट्रिय बजारमा प्रयोगमा आएका विभिन्न प्रकारका धितोपत्र औजारहरू जारी गर्न सक्ने व्यवस्था तत्काल गर्नसमेत चेम्बरले धितोपत्र बोर्डसमक्ष आग्रह गरेको छ।