साउन ५, २०७९ बिहिबार

इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत  प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) घोषित भएका छन् । उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

कर्तव्य ज्यानसम्बन्धी घटनाको कुशलतापूर्वक अनुसन्धान गरेकाले कुँवरलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो । उनी अर्जुनधारा नगरपालिका–४ जुकेखाडी साहसी टोलस्थित कच्ची सडकखण्डको ह्युम पाइपभित्र अज्ञात व्यक्तिको शव फेला परेको घटनामा तत्काल शवको पहिचान र घटनामा संलग्न व्यक्तिहरू पक्राउ सफल भएका थिए । 

पुरस्कृत भएका कुँवरले लागुऔषध, चोरीलगायतका विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउन १ नम्बर प्रदेश प्रहरी कार्यालयले प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी कार्य विवरणसहितको फ्लेक्स प्रिन्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर तथा इलाका प्रहरी कार्यालयहरूमा १ महिनासम्म राख्दै आइरहेको छ ।