साउन ६, २०७९ शुक्रबार

काठमाडौं: जर्मनी महिला युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। 

गएराति भएको खेलमा अष्ट्रियालाई २–० ले पराजित गर्दै जर्मनीले अन्तिम चारमा स्थान बनाएको हो। ​ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा भएको खेलमा जर्मनीको जितमा २५ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो। खेलको २५ औं मिनेटमा क्लारा गाब्रिलीको पासमा लिना मारिया मगुलले गोल गर्दै टिमलाई अग्रता दिलाइन्।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको जर्मनीले ९० औं मिनेटमा एलेक्स पोपले गोल गर्दै अग्रता दोब्बर बनाइन्।  त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन। 

आठ पटकको च्याम्पियन जर्मनीले सन् २०१७ पछि सेमिफाइनलमा स्थान बनाएको हो। अघिल्लो वर्ष हुने भनिएको प्रतियोगिता कोभिडका कारण स्थगित भएको थियो। अब जर्मनीले सेमिफाइनलमा फ्रान्स र नेदरल्याण्ड्सबीचको विजेतासँग खेल्नेछ।  प्रतियोगिता अन्तरगत आज राति स्वीडेन र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ। 

जारी संस्करणको महिला युरो कपमा घरेलु टिम इंल्याण्ड यसअघि स्पेनलाई दुई एकले हराएर सेमिफाइनलमा पुगिसकेको छ।