साउन ६, २०७९ शुक्रबार

साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिपमा सहभागी जनाउने नेपाली युवा टोलीलाई शुक्रवार बिदाइ गरिएको छ । 

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत नेपाली टोलीको बिदाइ गरिएको हो ।

भारतको भुवनेश्वरमा हुने साफ यु–२० टोलीलाई एन्फाले बिदाइ गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित केही एन्फा पदाधिकारी बिदाइ गरे ।

एक साता हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली दिउँसो भारत प्रस्थान गर्ने तालिका छ ।

च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन् । 

च्याम्पियनसिपका लागि  नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि नै २३ सदस्यीय युवा टोलीको घोषणा गरेका छन् ।

प्रतियोगितामा नेपालको कप्तानी अनुभवी मिडफिल्डर आयुष घलानले गर्नेछन् ।

यस्तै विभागीय टोलीसँगको अभ्यास खेलमा चोटग्रस्त भएका दीपेश राईको स्थानमा फरवार्ड रोहित सुब्बालाई टिममा बोलाइएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले फरवार्ड रोहितलाई टिममा बोलाइएको जानकारी गराए ।

मुख्य प्रशिक्षक केसीले घोषणा गरेको २३ सदस्यीय टोलीमा रोहित अटाएका थिएनन् ।

रोहित ३० सदस्यीय टोलीमा भने अटाएका थिए । चोटग्रस्त दीपेश कम्तिमा ३ महिना मैदान बाहिर रहनेछन् ।

कुर्कुचामा समस्या देखिएपछि उनको उपचार बी एण्ड बी अस्पतालमा भइरहेको छ ।

च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ ।

भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।

त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका रहेको छ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिष्पर्धा गर्नेछन् ।