साउन ८, २०७९ आइतबार

 प्रि-सिजन टुरमा रहेको म्यानचेस्टर सिटीले जर्मन जाइन्ट बायर्न म्युनिखलाई पराजित गरेको छ। यसै सिजनमा मात्र जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट इङलिस क्लब म्यानचेस्टर सिटी पुगेका नर्वेजियन फरवार्ड एर्लिङ हालान्डको गरेको एकमात्र गोल निर्णायक रह्यो।

१-० को जित निकाल्ने क्रममा सिटीले जर्मन च्याम्पियन बायर्न म्युनिखविरुद्ध पहिलो हाफमा निकालेको एकमात्र गोल नै निर्णायक बन्यो। उनले खेलको १२औं मिनेटमा ज्याक ग्रेलिसको पासलाई सदुपयोग गर्दा उनी डेब्यु खेलमै गोल गर्न सफल रहे।

अमेरिकामा आइतबार बिहान भएको खेल हालान्डको गोललगत्तै भारी वर्षाका कारण झन्डै ४० मिनेट स्थगित भएको थियो। त्यसपछि रोकिएकै स्थितिबाट खेल शुरु हुँदा खेल छोट्याइएको थियो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा सिटी विजयी हुन सफल भयो। प्रि–सिजनमा सिटीको यो लगातार दोस्रो जित हो।

चेल्सीको फराकिलो हार

प्रिसिजन टुरमै रहेको अर्को इङलिस क्लब चेल्सी भने मैत्रीपूर्ण खेलमा पराजित भएको छ। फ्लोरिडामा आइतबार बिहान भएको खेलमा चेल्सीलाई आर्सनलले ४-० ले पराजित गर्‍यो। आर्सनललाई जित दिलाउन गाब्रियल जिसस, मार्टिन ओडेगार्ड, बुकायो साका र अल्बर्ट सम्बीले एक एक गोल गरे।

त्यस्तै प्रिसिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा टोटेनह्यामले पनि रेन्जर्सलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा टोटेनहमले रेन्जर्सलाई २-१ ले पराजित गर्‍यो। टोटेनहमको जितमा दुबै गोल ह्यारी केनको नाममा रह्यो। खेलमा २१ औं मिनेटमा एन्टोनियोले गोल गर्दै रेन्जर्सले शुरुवाती अग्रता लिए पनि दोस्रो हाफमा टोटेनहमले गोल फर्काउँदै जित पक्का गरेको थियो।