साउन ९, २०७९ सोमबार

 

म्यान्मारको सेनाले चारजना नेतालाई मृत्युदण्ड दिएको छ ।

भूतपूर्व सांसद फ्यो जेया थअ, लेखक को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जअलाई "आतङ्ककारी गतिविधि" गरेको आरोप लगाइएको थियो।

जुन महिनामा सेनाले मृत्युदण्डको घोषणा गर्दा अन्तर्राष्ट्रिय समुदायले त्यसको निन्दा गरेको थियो।

सन् २०२१ मा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो।


आङ सान सू चीले नेतृत्व गरेको न्याश्नल लीग फर डेमोक्रेसी एनएलडीको नेतृत्वमा रहेको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले गत वर्ष फेब्रुअरीमा सत्ता लिएको थियो। सैन्य कूको विरोधमा उठेको स्वरलाई पनि सेनाले दमन गरेको थियो।

कूको विरोधमा गठन गरिएको छाया सरकारले मृत्युदण्डको निन्दा गरेको छ।

प्रजातन्त्रवादी व्यक्तित्व, सशस्त्र विद्रोही समूहका प्रतिनिधि र एनएलडीका सदस्यहरू सम्मिलित छाया सरकारले अन्तर्राष्ट्रिय समुदायलाई "अत्याचार र हत्याका लागि हत्यारा सैन्य जुन्टालाई सजाय दिन" आग्रह गरेको छ।

 

राज्यनियन्त्रित समाचारसंस्था ग्लोबल न्यूज लाइट अफ म्यान्मारले ती चार जनालाई "निर्मम र अमानवीय आतङ्ककारी गतिविधिलाई निर्देशित र व्यवस्थापन गरेर षड्यन्त्र गरेका कारण" मृत्युदण्ड दिइएको बताएको छ।

समाचारमा उनीहरूलाई प्रतिआतङ्कवाद कानुनअन्तर्गत सजाय दिइएको बताइए पनि कहाँ र कसरी मृत्युदण्ड दिइयो भन्ने स्पष्ट पारेको छैन।

संयुक्त राष्ट्रसङ्घका अनुसार म्यान्मारमा यसअघि सन् १९८८ मा झुन्डाएर मृत्युदण्ड दिइएको थियो।