साउन १०, २०७९ मंगलबार

काठमाडौं: मित्रराष्ट्र भारतको चेन्नई शहरमा आयोजना हुने ४४ औँ चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीको अभिमुखीकरण शुरु भएको छ।

नेपाल बुद्धिचाल संघको आयोजनामा सोमबार काठमाडौंको ठमेल पार्क होटलमा शुरु भएको कार्यक्रममा ओलम्पियाड टोलीका खेलाडी तथा अफिसियलहरुको सहभागिता रहेको छ।

मंगलबार सम्पन्न हुने दुई दिने कार्यक्रममा मनोविज्ञान, मोटिभेसन, खेल शैली तथा प्राविधिक विषयका प्रस्तुतिमाथि छलफल हुनेछ।

कार्यक्रमको पहिलो दिन मनोविद् डा. नरेन्द्र ठगुन्ना, नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम, उपाध्यक्ष नारायणदास गमाल, महासचिव धरम बहादुर लामा तथा सचिव उमेश केसीले विभिन्न विषयमा आ–आफ्नो धारणा राखेका छन्।

कार्यक्रमको दोश्रो दिन पूर्व नेशनल च्याम्पियन एवं ओलम्पियाड खेलाडीद्वय सुरवीर लामा तथा केशव श्रेष्ठ लगायतले अनुभव बाँड्ने कार्यक्रम रहेको छ।

आगामी जुलाईको २८ तारिखमा उद्घाटन भई अगस्ट ९ मा सम्पन्न हुने ओलम्पियाडको पुरुषतर्फको टिममा वर्तमान नेशनल च्याम्पियन पुरुषोतम चौलागाईं सहित फिडेमास्टरद्वय रुपेश जयसवाल तथा क्षितिज भण्डारी एवं क्यान्डिडेटमास्टरद्वय विवेक थिङ तथा मिलन लामा रहेका छन्।

त्यसैगरी महिलातर्फ नेशनल च्याम्पियन सुजना लोहनीसहित कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति थिङ रहेका छन्। सहभागी खेलाडी मध्ये रुपेशले २०१२ (रसिया) एवं २०१८ (जर्जिया)को अनुभव सँगाली सकेका छन् भने सुजनासँग २०१६ (अजरवैजान) तथा २०१८ (जर्जिया)को अनुभव रहेको छ।

त्यस्तै क्षितिज भण्डारी २०१६ (अजरवैजान) तथा विवेक २०१८ (जर्जिया) ओलम्पियाडमा सहभागी भएका छन्। अन्य खेलाडीको हकमा चेन्नई ओलम्पियाड नयाँ अनुभव हुनेछ।