साउन १०, २०७९ मंगलबार

बैंकहरूले राष्ट्र बैंकबाटै १४ प्रतिशतसम्म ब्याजदर पाएका छन् । किनकी राष्ट्र बैंकले निष्कासन गर्ने ट्रेजरी बिलको ब्याज १४ प्रतिशतसम्म पुगेको छ । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकदर बढाउने निर्णय गरेको थियो । त्यसैको फलस्वरूप ट्रेजरी बिलको ब्याजदर बढेको हो । राष्ट्र बैंकले साउन १० गतेको लागि जारी गरेको ट्रेजरी बिलमा बैंकहरूले अधिकतम १२.२४ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याजदर माग गरेका छन् । 

राष्ट्र बैंकले हिजो २८ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । उक्त ट्रेजरी बिल भदौ ७ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ९१ दिनको अवधिको लागि १३ अर्ब ६० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । उक्त ट्रेजरी बिल कार्तिक ८ गते परिपक्क हुनेछ । 

सोही ट्रेजरी बिल बैंकहरूले १२.२४ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याजमा खरिद गरेका हुन् । उच्च दरले बैंकिङ प्रणालीमा तरलताको तीव्र अभावको सङ्केत गर्दछ ।