काठमाडौँ : लामो समयदेखि थुप्रिएको फोहोर आजदेखि काठमाडौंँ महानगरले उठाउने भएको छ । साउन ११ गते सडक निर्माण कार्य सकिएकोले १२ गते बिहीबार बिहान ६ बजेदेखि फोहोर उठ्ने महानगरले सूचना जारी गर्दै जानकारी दिएको हो।
आफूलाई पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्याउन महानगरले अनुरोध गरेको छ।
उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक निर्माण कार्य भइरहेकोले फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय महानगरले गरेको थियो।
फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपील गरेको थियो। साथै महानागरले कुहिने र नकुहिने फोहोर छुट्याएर राख्नु भनेको थियो।