साउन १२, २०७९ बिहिबार

पर्साको ठोरीस्थित छोटी भन्सार कार्यालयमा भन्सारका लागि भव्य भवन निर्माण भए पनि नियमित कर्मचारी नबस्दा मासिक लाखौं रुपैयाँ राजस्व गुम्दै आएको छ ।

वीरगन्ज भन्सार कार्यालय मातहतको यो भन्सारको नयाँ भवन २ वर्षअघि निर्माण भएको थियो । काठको जीर्ण भवनबाट विगतदेखि छोटी भन्सार सञ्चालनमा आएको थियो । हाल सुविधा सम्पन्न कार्यालय निर्माण भइसक्दा पनि कर्मचारी नियमित नबस्दा सरकारलाई दैनिक राजस्व घाटा भइरहेको स्थानीय बताउँछन् ।

ठोरी नाका भएर निजी सवारीसाधनमार्फत भारतीय पर्यटक सौराहालगायत नेपालका अन्य गन्तव्यसम्म आउने गर्छन् । भारतीय बजार भिखनाठोरी र नरकटियागञ्जबाट किनमेल गरेर ठोरीदेखि चितवनसम्मका स्थानीय यही नाका हुँदै फर्कने गरेका छन् । भारतीय बजारबाट किनमेल गरेर फर्कनेले लत्ताकपडा, बिजुलीका सामान, मोटर पार्टस् तथा अन्य दैनिक उपभोग्य बस्तु ल्याउने गर्छन् । भन्सार शुल्क बुझाउन खोज्नेले पनि त्यहाँ कर्मचारी नदेखेपछि राजस्व नबुझाई मालसमान लग्छन् ।

ठोरीसम्म आउने भारतीय पर्यटक ठोरी भएर चितवन सौराहा हुँदै लुम्बिनी, पोखरा, काठमाडौंसम्म जाने इच्छा गरे पनि यहाँ भन्सारले भारतीय गाडीको नेपाल प्रवेश गर्ने अनुमतिसहित भन्सार नकाट्ने गरेकाले थुप्रै भारतीय पर्यटक दुःख मानेर फर्कने गरेको होटल तथा पर्यटन व्यवसायी सुदिप थापाले बताए । ‘भारतीय पर्यटकले निजी गाडी लिएर नेपालका अन्य पर्यटकियस्थल घुम्न जान ठोरीबाटै सवारीसाधनको अस्थायी पैठारीको अनुमति लिन खोज्छन्,’ उनले भने, ‘हामीले उनीहरूलाई बाध्य भएर ६० किमी टाढा वीरगन्ज गएर त्यहाँबाट भन्सारको अनुमति लिएर वीरगन्ज हुँदै जान सुझाव दिन्छौं, तर उनीहरू मान्दैनन् ।’

अर्का स्थानीय प्रकाश खनाल सरकारले महेशपुर र त्रिवेणी जस्तन नवलपरासीका नाकामा रहेका छोटी भन्सारलाई भारतीय सवारीको अस्थायी पैठारी अनुमति दिनेसम्मको अधिकार दिए पनि ठोरी भन्सार भने अझै कर्मचारीबिहिन बनाएर राखेको गुनासो गरे ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले ठोरी छोटी भन्सारमा एक नायब सुब्बा र एक कार्यालय सहयोगी गरी २ कर्मचारीको दरबन्दी रहेको र उनीहरू नियमित रूपमा कार्यालयमा पुग्ने गरेको दाबी गरे । उक्त नाकाबाट प्रायः सरकारले आयातमा रोक लगाएका वस्तुहरू बढी भित्रिने गरेकाले त्यस्ता वस्तुको भन्सार काट्न नमिल्ने उनले बताए ।