काठमाडौँ । ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी आज विश्व बाघ दिवस मनाइँदै छ । दिवसका अवसर पारेर आज नेपालमा बाघको सङ्ख्या र अवस्था सार्वजनिक गरिँदै छ ।
दिउँसो ३ बजे बाघको सङ्ख्या र अवस्थाबारेको प्रतिवेदन सार्वजनिक गर्ने तयारी भएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिएका छन् । नेपालले गएको मंसिरदेखि फागुनसम्म बाघ गणना गरेको थियो ।
नेपालले झण्डै एक दशकअघि रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ भित्र नेपालमा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । सन् २००९ मा भएको गणनाअनुसार नेपालमा बाघको सङ्ख्या १२१ थियो ।
सन् २०१८ मा नेपालमा बाघको सङ्ख्या २३५ पुगेकाले प्रतिबद्धता पूरा हुने अनुमान छ ।
बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ तारिखलाई बाघ दिवसका रूपमा मनाइन्छ । बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ ।