साउन १३, २०७९ शुक्रबार

सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहनबहादुर बुढाले प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेको कीर्ते हस्ताक्षर गरी नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाताबाट घर भाडा, खाना तथा खाजा खर्चवापत भन्दै तीन लाख ६२ हजार ५ सय रकम भुक्तानी गरेको खुलेको छ । 


नगरपालिकाभित्रकै कर्मचारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतमा मुद्दा हालेपछि मात्रै यो विषय बाहिर आएको हो।

गत जेठ १७ गते लेखा अधिकृत बुढाले उक्त बिल पास गरिदिनका लागि प्रमुख प्रशासकीय अधिकृत पाण्डेको टेबुलमा पुर्‍याएका थिए। तर प्रशासकीय अधिकृत पाण्डेले अनाधिकृत शीर्षकमा पैसा खर्च भएकोले बिल पास नहुने भन्दै फाइल फिर्ता गरिदिए।

तर, लेखा अधिकृत बुढाले प्रमुख प्रशासकीय अधिकृतको किर्ते हस्ताक्षर गरी रकम भुक्तानी गरिदिए। जेठ १९ गते रामजाली ढावा एण्ड तन्दुरी पसलका नामबाट उक्त रकम भुक्तानी भएको पाइएको छ।

अख्तियारबाट टोली गएर सोधपुछ गर्दा मात्रै आफूले यो विषयमा जानकारी पाएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए।

‘जेठ १७ गते मेरो टेबुलमा कर्मचारीहरूको घर भाडा, खाना, खाजाको खर्च भन्दै रामजाली ढावा एण्ड तन्दुरी पसलको नामबाट बिल आयो। मैले यो शीर्षकमा कुनै छलफल नभएको र अनाधिकृत शीर्षक भएको भन्दै पुनः लेखामै बिल फर्काइदिएँ,’ अधिकृत पाण्डेले भने, ‘लेखा अधिकृत र मेरो हस्ताक्षरमा नगरपालिकाको खाता सञ्चालन भएको छ। उहाँले मेरो कीर्ते हस्ताक्षर गरेर तीन लाख ६२ हजार ५ सय भुक्तानी गर्न पठाउनुभएछ। मैले त अख्तियारको टोली नगरपालिकामा आएपछि मात्रै थाहा पाएँ।’

अधिकृत पाण्डेका अनुसार घर भाडा र खाना, खाजाको विषयमा कार्यपालिकामा कुनै औपचारिक र अनौपचारिक निर्णय भएको थिएन। लेखा अधिकृतले मनोमानी रूपमा कीर्ते हस्ताक्षर र सूत्रको दुरुपयोग गरेकोप्रति उनले आपत्ति जनाए।

‘मैले हस्ताक्षर गरेको छैन। नगरपालिकामा आएको पैसा सबै नगरबासीको हो। यसरी जथाभावी हामीले प्रयो गर्नुहुँदैन भनेर मैले कर्मचारी साथीहरूलाई बारम्बार भन्दै आएको थिएँ,’ पाण्डेले भने, ‘तर मेरै हस्ताक्षर दुरुपयोग गरी लेखा अधिकृतले गरेको यो काम विरुद्ध म कानुनी प्रक्रियामा जानेछु।’

यो मुद्दालाई अख्यिार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले पनि अनुसन्धान गरिरहेको छ।

यो विषयलाई गुपचुप बनाउन आफैंले हस्ताक्षर गरेको भनिदिन विभिन्न निकायबाट दबाब आए पनि आफू सत्यको पक्षमा लागेको उनले बताए।

यता लेखा अधिकृत बुढाले आफूले कीर्ते हस्ताक्षर गरेको कुरा गलत भएको दावी गरे।

उनले विभिन्न अनुगमन, तालिम र गोष्ठीमा खाना, खाजा खुवाएको बिलको भुक्तानीका लागि प्रमुख प्रशासकीय अधिकृतले नै हस्ताक्षर गरेको बताए।

‘नगरपालिकामा हरेक कुराको सिस्टम छ। त्यही अनुसार नै काम हुने हो। ताकि लेखाले एक्लै गरेर मात्रै केही हुँदैन,’ लेखा अधिकृत बुढाले भने, ‘विभिन्न अनुगमन, तालिम र गोष्ठीमा खुवाएको खाना र खाजाको बिलमा उहाँले नै हस्ताक्षर गरेर चेक बनाउनुभएको हो। अहिले आएर मलाई मात्रै फसाउने प्रपञ्ज रचिएको छ।’