काठमाडाैँ । आज बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । प्रदेश नम्बर-१, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हाे ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास छ । पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको महाशाखाले जनाएको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।