साउन १४, २०७९ शनिबार

महेश सिंह, सिरहा । भगवान्‌पुर गाउँपालिकामा कार्यरत करारका कर्मचारीहरूलाई म्याद थप नगर्दा आन्दोलित भएका छन्। स्थानीय सरकारले कुनै लिखित निर्णय नदिई एक्कासी कर्मचारीहरूलाई हटाउँदा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

एक हप्ताअघि हटाइएका कर्मचारीहरूले पुनः काजमा फर्काउन र म्याद थप गरी करार कर्मचारीहरूलाई कार्यको जिम्मेवारी दिई कार्य सञ्चालन गर्न पालिका अध्यक्ष उग्रनारायण यादवलाई आग्रह गरेका छन्। 

करार कर्मचारी संघर्ष समिति ४ दिनदेखि पालिका अगाडि शान्तिपूर्ण धर्नामा बसिरहेका छन् । हटाइएका करारका कर्मचारीलाई पाँच राजनीतिक दलहरूले समर्थन गरिरहेका छन्।

शुक्रबार कार्यालय अगाडि धर्नामा बसेका उनीहरूले कर्मचारी र जनप्रतिनिधिलाई कार्यालय प्रवेश नि:शेध गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले धर्नामा बसेका कर्मचारीहरूलाई हटाएका थिए ।

प्रहरीले हस्तक्षेप गर्न खोज्दा कर्मचारीहरूले 'स्थानीय सरकार मुर्दावाद, प्रहरी प्रशासन मुर्दावाद, हटाइएको करार कर्मचारीलाई पुनः बहाली गर' लगायतका नारा लगाएका थिए । उनीहरूले भगवान्‌पुरको मुख्य चौकमा स्थानीय सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका थिए।

पुनः बहाली गरिएन भने निरन्तर तालाबन्दीलगायत विभिन्न कार्यक्रम गरिने चेतावनी दिएका छन्। संयुक्त पाँच दल र नेकपा एमालेका पालिका संयोजक सूर्यनारायण यादवसँग दोहोरो भनाभन र गाली गलौज समेत भएको थियो।