साउन १४, २०७९ शनिबार

सिराहाको माँ भगवती वेकरी एन्ड स्विट्स हाउसको समोसामा कीरा भेटिएको छ । कीरा भेटिएको सूचना पाएपछि  जिल्ला प्रशासन कार्यलय सिरहाका अनुगमन टोलीले छापा मारेको छ । सेवाग्राहीको नास्तामा कीरा फेला परेको सूचना प्राप्त भएपछि  जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशनमा  प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलीले माँ भगवती बेकरी एण्ड स्वीट्स हाउसमा छापा मारेको हो ।

टोलीले माँ भगवती बेकरी एण्ड स्वीट्सको किचेन र होटेलमा खानेकुरा राखिने स्थानको अनुगमन गरेको छ । टोलीले गल्ति सुधार गर्न र सरसफाइमा पूर्ण ध्यान दिन  होटलका सञ्चालक गणेश साहलाई चेतावनी दिइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।

अनुगमनका क्रममा उक्त होटलमा अत्याधिक खाने सामग्रीहरू बासी पाइएको प्रशासकीय अधिकृत श्याम राउतले जानकारी दिए ।  होटलमा अत्याधिक फोहोर  र अव्यवस्थित तरिकाले कर्मचारी खटाइएकोले खाने सामानमा कीरा भेटिनु स्वाभाविक रहेको उनले बताए ।

बुधबार दिउँसो चाट नास्ता खाँदा समोसाभित्र मरेको अवस्थामा कीरा फेला परेको थियो । गोलबजारका  सेवाग्राही राम भरोसी यादवले कीरा परेको समोसा खाँदा आफू बिरामी परेको दावी गरेका छन्। उनका अनुसार होटलमा सरसफाइको बारेमा पटक–पटक सचेत गराउँदा पनि होटलका संचालक गणेश साहले बेवास्ता गरेका थिए ।