‘उत्तर प्रदेशको स्थितिका लागि योगी (आदित्यनाथ) सही मुख्यमन्त्री हुन् । त्यस्तै, कर्नाटकमा परिस्थितिसँग जुध्न विभिन्न विधि प्रयोग भइरहेको छ । आवश्यक परे कर्नाटकमा ‘योगी मोडल’ प्रयोग हुनसक्छ,’ मुख्यमन्त्री बसवराज बोम्मईले भने ।
कर्नाटकको म्याङ्गलुरुमा भाजपा कार्यकर्ता प्रवीण नेत्तारूको हत्यापछि सडकमा उत्रिएका प्रदर्शनकारीहरूलाई मनाउन कर्नाटकका मुख्यमन्त्री बोम्मईले आवश्यक परेको खण्डमा ‘योगी मोडल’ अपनाउन तयार रहेको बताएका छन् ।
प्रवीण नेताहरूको हत्यालाई लिएर भाजपा र राष्ट्रिय स्वयमसेवक संघका समर्थकहरू आफ्नै दलका मुख्यमन्त्री बोम्मईसँग निकै आक्रोशित देखिएका छन् । उनीहरू मुख्यत: आफ्नै दलको सरकारले भाजपा कार्यकर्तालाई सुरक्षा दिन नसकेको भन्दै योगी मोडलको माग गरिरहेका छन् ।
के हो योगी मोडल ?
योगी मोडल उत्तर प्रदेशका मुख्यमन्त्रीले अपराधीहरूविरुद्ध अपनाएका कठोर नीतिलाई भन्न खोजिएको हो । तर यसअन्तर्गत कस्ता–कस्ता कारवाही पर्छन् भन्नेमा एकमत छैन । कर्नाटकका आक्रोशित भाजपा कार्यकर्ताका अनुसार योगी मोडेलमा योगी आदित्यनाथले राष्ट्र विरोधी गतिविधिलाई नियन्त्रण गर्नका लागि उठाएका सबै कडा कदमहरूको अनुसरण गर्नुपर्छ ।
पछिल्लो समय योगीले उनका आलोचकहरूको घरमा बुलडोजर चलाइदिएका थिए । कर्नाटकका कार्यकर्ताले गुण्डा नाइके विकास दुवेलाई मुठभेडको नाममा मारेजस्तै कारबाही उठाउन पनि माग गरिएको छ । ३२ वर्षीय प्रवीण नेत्तारू भारतीय जनता युवा मोर्चाका कार्यकर्ता थिए । मंगलबार पसल बन्द गर्ने क्रममा उनको हत्या भएको थियो ।
त्यसयता भाजपाका कार्यकर्ता सरकार र पार्टीका नेताहरूविरुद्ध आन्दोलनमा उत्रिएका छन् । आन्दोलनरत कार्यकर्ताहरूले भाजपा प्रदेश अध्यक्षको गाडी घेरा हालेर राजीनामाको माग गरेका थिए । विरोधका बीच मुख्यमन्त्री बोम्मईले उनको मुख्यमन्त्रीको कार्यकाल एकवर्ष पूरा भएको अवसरमा आयोजना गर्न लागेको कार्यक्रमसमेत रद्द गर्नुपरेको छ ।
बोम्मईले कार्यकर्ताको आक्रोश साम्य पार्न राष्ट्र विरोधी गतिविधिहरूविरुद्ध आतङ्कवाद विरोधी दस्ता र विशेष कमान्डो युनिट परिचालन गर्ने बताएका छन् । उनले साम्प्रदायिक सद्भाव कायम राख्न र त्यसलाई भत्काउने शक्तिलाई निर्मुल पार्न सरकार सामु केही चुनौती रहेको बताए । तर त्यस्ता चुनौती देशका सबै राज्य सामु रहेको र त्यस्ता शक्तिहरूले विगत १० वर्षमा कर्नाटकमा टाउको उठाएको मुख्यमन्त्रीले बताए ।
‘सन् २०१४–१५ मा सुरु भएका यस्ता गतिविधि अहिले समेत चलिरहेको छ । हाम्रा प्रहरी अधिकारीहरूले ‘स्लीपर सेल’ पहिचान गर्न सफल भएका छन् र राष्ट्रिय अनुसन्धान एजेन्सीको सहयोगमा यस्ता गतिविधिमा संलग्न र उनीहरूलाई सहयोग गर्नेलाई जेल पठाइएको छ,’ पपुलर फ्रन्ट अफ इण्डिया (पीएफआई) र सोशल डेमोक्रेटिक पार्टी अफ इन्डियालाई प्रतिबन्ध लगाउने सम्बन्धमा उनले यो केन्द्र सरकारको काम भएको बताए । राज्य सरकारहरूले त्यसो गर्न खोज्दा अदालतले प्रतिबन्ध लगाएको उनले गुनासो गरे ।
प्रवीण नेत्तारुको हत्यामा संलग्न ठानिएका जाकिर र शफिक नामका दुई युवा पक्राउ परेका छन् ।