साउन १५, २०७९ आइतबार

काठमाडौँ — भारतको भुवनेश्वरमा जारी यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो ‘म्याच डे’ मा दुई छिमेकी देश भिड्दै छन् - नेपाल र भारत । यो खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे कालिंगा रंगशालामा हुनेछ । त्यसअघि सवा ४ बजेको खेलमा माल्दिभ्स र श्रीलंका भिड्ने छन् । माल्दिभ्स पनि लगातार दुई खेल गुमाएर अंकविहीन स्थितिमा छ ।

नेपाल भारतमाथि विजयी रहे प्रतियोगितामा सबै प्रकारका समीकरण नै समाप्त हुनेछ । त्यस स्थितिमा राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा नेपाल र बंगलादेश फाइनल पुग्नेछन् । बराबरी स्थितिमा बंगलादेश फाइनल पुग्ने पहिलो टिम हुनेछ । दोस्रो टिमका लागि लिग चरणको अन्तिम दिन कुर्नुपर्नेछ ।

प्रतियोगिताको चौथो ‘म्याच डे’ मा बंगलादेश र नेपाल तथा भारत र माल्दिभ्स भिड्नेछन् । त्यसअघि नेपाल छिमेकी भारतको हातबाट पराजित रहेमा फाइनल पुग्ने दुई टिमका लागि लिग चरणको त्यही अन्तिम चरणको प्रतीक्षा गर्नुपर्नेछ ।

नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले भारतविरुद्धको खेललाई लिएर भनेका छन्, ‘हाम्रा लागि चारै प्रतिस्पर्धी टिम समान छन् । हामीलाई आफ्नो टिममा पूरा विश्वास छ । एउटा टिमका रूपमा नेपालले कडा मिहिनेत गरेको छ र त्यसअनुसार अहिलेसम्म नतिजा पनि निकालेको छ । हामीले पक्कै कडा मिहिनेत गर्नुपर्छ र प्रतिद्वन्द्वीलाई हराउनुपर्छ ।’

उनले थपेका छन्, ‘उमेर समूहको फुटबलमा दक्षिण एसियाका सबै टिम समान छन् । केही तलमाथि हुनेमात्र हो, धेरै फरक हुने गर्दैन । नेपाली समर्थकले भारतविरुद्धको खेल अलि विशेष मानेर हेर्ने हुन्छ । हामी खेलकर्मीको भने प्रतिद्वन्द्वी टिमको भन्दा राम्रो खेलेर हराउने उद्देश्य हुन्छ । अरू के सोच्छन् भनेर धेरै ध्यान दिनुहुन्न । टिममा पनि कुनै प्रकारका चोटका समस्या छैनन् ।’