चैत २४, २०७७ मंगलबार

मंगलबार पनि काठमाडौँमा राम्रोसँग घाम लागेन । आकासमा तुवाँलो लागेको हामी सबैले देखिरहेकै छौँ । हामीमध्ये धेरैले आँखा बिझाउने, पोल्ने, रुघा लागेको जस्तो अनुभव गरिरहेका छौँ ।

अघिल्लो साता पनि यसरी नै प्रदूषण बढेपछि सरकारले ४ दिन विद्यालय बन्द गर्न निर्देशन दिएको थियो ।

तर प्रदूषण नियन्त्रणका लागि भने सरकारले कुनै कदम चालेन । विद्यालय बन्द गर्नुको साटो प्रदूषण बढी भएका स्थानमा औद्योगिक कलकारखाना, सवारी साधन सञ्चालनमा केही समय बन्देज लगाएको भए प्रदूषणमा केही कमी आउन सक्ने विज्ञहरू बताउँछन् ।

अघिल्लो हप्ता हल्का वर्षापछि प्रदूषणमा केही कमी आएको थियो । तर, यो हप्ता फेरि प्रदूषण उच्च बिन्दुमा पुगेको छ ।

गर्मी बढेको तर पानी नपरेकाले सुख्खापन धेरै हुँदा देशका विभिन्न जंगलमा डढेलो लाग्दा वायु प्रदूषण उच्च भएको विज्ञहरुले बताएका छन् ।

गत चैत १० गतेपछि निरन्तर रुपमा नेपालमा डढेलो लागेका कारण पनि प्रदूषण थप बढ्दै गइरहेको छ । आइतबार मात्रै नेपालमा ७ सयभन्दा बढी जंगलमा डढेलो लागेको तथ्यांक सार्वजनिक भएको छ ।

काठमाडौँ उपत्यका अहिले पनि प्रदूषित सहरको सूचीको नम्बर एकमै छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्युआईका काठमाडौँ सहरको एयर क्वालिटी इन्डेक्स २७८ छ । ३ सयभन्दा धेरै एक्युआई हुनु एकदमै हानिकारक मानिन्छ ।

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार एक्युआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्युआईलाई सामान्य मानिन्छ भने एक्युआई २ सय १ भन्दा माथि पुगे धेरै हानिकारक हुन्छ ।

सिंहदरबार क्षेत्र अहिले सबैभन्दा धेरै प्रदूषित देखिएको छ । त्यस्तै नेपालगन्ज, पोखरालगायत सहरहरुको एक्युआई पनि हानिकारक अवस्थामा छ ।

यसैबीच वायु प्रदूषण फेरि बढेसँगै यसले श्वासप्रश्वासमा समस्या हुने लगायत स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।

काठमाडौँसहित देशका विभिन्न ठाउँमा तुवाँलो लागेजस्तो भएर वातावरण धुमलिएको र प्रदूषित भएकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन जनस्वास्थविदहरुको आग्रह छ ।