साउन १६, २०७९ सोमबार

काठमाडौँ । धरान उपमहानगरपालिका घेराउ गर्दै मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गरिएको छ । बराह बचत तथा ऋण सहकारी संस्थाका पीडित सेयर सदस्य तथा बचतकर्ताहरूले उपमहानगरपालिका घेराउ गर्दै मेयरविरुद्ध नाराबाजी गरेका हुन् ।

पीडितहरूलाई न्याय दिलाउन ढिलाइ गरेको र छानबिन समितिसँगको छलफलमा बस्ने क्रममा आइतबार मेयर साम्पाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध घेराउ र नाराबाजी भएको हो।

मेयर साम्पाङले छलफलमा पीडितहरूकातर्फबाट ५ जना मात्र प्रतिनिधिका रूपमा बस्न भन्दै बाहिरिएका थिए। त्यसलगत्तै पीडितहरू छलफलमा नबस्ने भन्दै बैठक कक्षबाट बाहिरिएर आन्दोलन चर्काएका थिए।

बराह पीडितहरूले प्रहरीको घेरासमेत तोडेर मेयरकै कार्यालयसम्म पुगेका थिए। त्यहाँ आक्रोशित भिडले मेयरको कार्यालय बाहिरको सिसासमेत फुटाइदिए। घटना अप्रिय हुन नदिन भन्दै जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा आफै पनि धरान आएका थिए।