इंग्ल्याण्डविरुद्ध तीन खेलको टी २० सिरिज दक्षिण अफ्रिकाले २–१ ले जितेको छ। निर्णायक मानिएको तेस्रो टी–२० मा लेगस्पिनर तबरेज शाम्सीले पाँच विकेट लिएपछि दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ९० रनले पराजित गरेको हो।
पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १९२ रनको लक्ष्य दिएको थियो। तर जवाफमा घरेलु टोली १६.४ ओभरमा १०१ रनमा अल आउट भयो। इंग्ल्याण्डका लागि जोनी ब्यरस्टोले ३० बलमा २ चौकासहित सर्वाधिक २७ रन बनाउनु सर्वाधिक रह्यो।
त्यस्तै ओपनर जेसन रोय १७, जोस बटलर १४, डेविड मलान ७ र क्रिस जोर्डन १४ रनमा आउट भए। दक्षिण अफ्रिकाका लागि स्पिनर तबरेज शाम्सीले ४ ओभरमा २४ रन खर्चेर पाँच विकेट लिए। केशव महाराजको नाममा दुई विकेट रह्यो।
त्यसअघि साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाए। दक्षिण अफ्रिकाका ओपनर रिजा हेनड्रिक्सले ५० बलमा ९ चौकासहित सर्वाधिक ७० रन बनाए। उनको यो लगातार तेस्रो अर्धशतक हो। त्यस्तै एडन माक्ररमले ३६ बलमा ५० रनको अविजित इनिङ खेले।
ओपनर क्विन्टन डि कक शून्य, राइली रोसो ३१, डेविड मिलर २२ र ट्रिस्टन स्टब्सले आठ रन बनाए। इंग्ल्यान्डका तीव्र गतिका बलर डेविड विल्लीले सर्वाधिक तीन विकेट लिए। ब्याटिङका क्रममा केही समय वर्षाले खेल प्रभावित बनेको थियो।
पहिलो खेलमा इंग्ल्याण्ड ४१ रनले विजयी हुँदा दोस्रो खेलमा दक्षिण अफ्रिका ५८ रनले विजयी भयो। अब यी दुईबीच तीन टेस्टको सिरिज १७ अगष्टमा सुरु हुनेछ।