साउन १७, २०७९ मंगलबार

काठमाडौं: भारत र वेस्टइन्डिज बिच जारी ५ खेलको टी-२० सिरिजको दोस्रो खेलमा वेस्टइन्डिज ५ विकेटले विजयी भएको छ। यो सँगै घरेलु टोलीले सिरिज १–१ को अबस्थामा ल्याएको छ।

वार्नर पार्कमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको भारत १९.४ ओभरमा १ सय ३८ रनमा समेटिएको थियो। भारतका लागि हार्दिक पाण्ड्याको ३१ रन सर्वाधिक रह्यो। उनी बाहेक ऋषभ पन्तले २४ रन बनाउँदा रविन्द्र जडेजाले २७ रन बनाएका थिए। भारतलाई सस्तैमा समेट्ने क्रममा वेस्टइन्डिजका लागि ओवेड म्याकोएले सर्वाधिक ६ विकेट लिए। त्यस्तै ज्यासन होल्डरले २ विकेट हात पारे।

१ सय ३९ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजका लागि ओपनर ब्रान्डन किंङले सर्वाधिक ६८ रन बनाउँदै टिमलाई जितको आधार तयार गरेका थिए। त्यस्तै डेभन थोमस ३१ रनमा अविजित रहँदा निकोलस पुरनले १४ रन बनाएका थिए। यि दुई बिचको तेस्रो टी-२० आज हुँदै छ।