काठमाडौँ- नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग-२०२२ को सर्वोत्कृष्ट गोलरक्षक घोषित भएसँगै प्रेमिका कन्चन निरौलालाई खेल मैदानमै विवाह प्रस्ताव राखेका छन्।
विवाह प्रस्तावको भिडियो किरणले फेसबुकमा राखेका छन्।
एयर होस्टेज कन्चनसँग किरण विगत २ वर्ष देखि प्रेममा रहेको बुझिएको छ। थ्री नेसन्स कप जित्दा दुई जना एकै साथ दशरथ रंगशालामा देखिएका थिए।
टोलीको पुरस्कार वितरण समारोहमा किरणले आफ्नी प्रेमिका,उनकी आमा र स्वयम् आफ्नी आमालाई माल्दिभ्स लगेका थिए।
माजिया स्पोर्टस एण्ड रिक्रियसनबाट खेलेका गोलरक्षक किरण सिजन २०२२ को उत्कृष्ट गोलरक्षक चुनिएका हुन्।
किरणले माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन्। यसअघि सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षक जितेका थिए।