काठमाडौं: चीनको दबाबकाबीच ताइवान पुगेकी अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानका राष्ट्रपति साइ यिङ वेनसँग भेटवार्ता गरेकी छन्। भेटमा पेलोसीले ताइनवानको नेतृत्व महिलाले गरेको भन्दै त्यसको प्रशंशा गरिन्।
त्यसअघि उनले ताइवानको संसदमा सम्बोधन गरेकी थिइन्। सम्बोधनका क्रममा पेलोसीले ताइवान विश्वकै स्वतन्त्र समाजमध्ये पर्ने उल्लेख गरेकी छन्। उनले अमेरिका र ताइवानबीचको संसदीय आदानप्रदान बढाउन चाहेको पनि बताइन।
पेलोसीले आगामी दिनमा अमेरिकाले ताइवानसँग विज्ञान प्रविधि तथा अनुसन्धानको क्षेत्रमा ठूलो लगानीको लागि सहकार्य गर्ने समेत बताएकी छन्। पेलोसीलाई संसदका उपराष्ट्रपति साई ची–चाङले स्वागत गरेका थिए।
यसैबीच, चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत निकोलश बन्र्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ। चिनियाँ उप–विदेशमन्त्री से फेङले पेलोसीको ताइवान भ्रमणको प्रकृति खराब भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन्। उनले चीन चुप नबस्ने पनि बताएको अन्तर्राष्ट्रिय संचारमाध्यामले उल्लेख गरेका छन्। पेलोसीलाई स्वागत गरेको ताइवानमाथि चीनले संभावित बल प्रयोग गर्न सक्ने भन्दै सतर्कता अपनाइएको छ।
ताइवानलाई आफ्नो अभिन्न अंग दाबी गर्दै आएको चीनको चेतावनीका बाबजुद् गएराति सभामुख पेलोसी अमेरिकी वायु सेनाको जहाजमा ताइपेई पुगेकी हुन्। उनको भ्रमणलाई ह्वाइटहाउसले समर्थन गरेको छैन। तर उहाँको भ्रमण दशकौंमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो।
ताइवान एउटा स्वशाशित टापु भएपनि चीनले उसमाथि दाबी गर्दै आएको छ।
यसैबीच चीनले थप ताइवानी उत्पादनलाई प्रतिबन्ध लगाएको छ। पेलोसीको भ्रमण लगत्तै चीनले ताइवानी सामान र उत्पादनहरू प्रतिबन्ध लगाएको हो।
चीनको वाणिज्य मन्त्रालयले ताइवानबाट सिट्रस फल, दुई प्रकारका माछा र बालुवा आयातमा तत्काल प्रतिबन्ध लगाउने घोषणा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन्। यसअघि हिजो बिस्कुट र कन्फेक्सनरीसहित अन्य सामान आयातमा प्रतिबन्ध लगाएको थियो।